Logo
Logo

टिकापुर, बेचन र जीवी घटनाको अनुसन्धानमा हात नकमाउन प्रहरीलाई रविको निर्देशन


2.4k
Shares

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठूला ठूला काण्डहरुको अनुसन्धानमा हात नकमाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लामिछानेले सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको भन्दै आफूले थालेका विभिन्न काण्ड तथा घटनाहरुको अनुसन्धानमा हात नकमाउन निर्देशन दिएका हुन् ।

‘बाहिर आएका कयौँ विषयहरू सरकार परिवर्तनसँगै सामसुम भएको देखिन्छ । चाइँचुइँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरी र अनुसन्धान ब्युरोले तदारुकताका साथ काम गरोस्’, उनले भने । उनले कलम झुक्दैन र रोकिँदैन भनेको आफूले सुनेको भन्दै कलम रोकिएको बताए ।

उनले भने, ‘बेचन झा पक्राउ परेसँगै उनको अडियो सार्वजनिक भएको छ । मन्त्रिपरिषद्ले नै निर्णय गराएको रहेछ भन्ने उनको अडियो र कयौँ कुराकानीबाट पुष्टि हुने ठाउँहरू प्रशस्त छन् ।’

उनले भोलि त्यो पुष्टि हुँदा र अनुसन्धान हुँदै जाँदा राजनीतिक शक्ति केन्द्रमा पुग्न सक्ने भएकाले त्यसवेला राजनीतिक परिवर्तनसँग प्रहरी प्रशासनको कुनै लेनादेना छैन भन्ने प्रमाणित गर्न पनि निर्देशन दिए ।

त्यसक्रममा उनले टीकापुर घटनाको अनुसन्धानमा कहीँ कतै कमी आउनु नहुने र आफू पनि ती घटना नियालिरहेको हुने बताए । जीवी राईको विषयमा इन्टरपोलसँग निरन्तर संवाद आफूसँग भएको र त्यसबारे अन्तिम निष्कर्ष आफ्नो कार्यकालमा हुन नसके पनि निष्कर्षमा पुर्याउन नसकिने विषय नरहेको बताए ।

त्यसैगरी उनले निर्मला हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको भन्दै अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्