काठमाडौं । माछापुच्छ्रे बैंकको २०८१ असार २७ मा बसेको सञ्चालक समितिको बैंठकले २०८१ साउन १ गतेदेखि लागू हुनेगरी प्रसिद्धराज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य गरेको अनुभव छ ।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका थिए । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गरेका छन् ।
उनीहरु दुवै जना बैंकिङ् करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।