काठमाडौं, १५ बैशाख ।
पूर्व सचिव भिम उपाध्यायलाई बिद्युतीय कारोबार ऐन अनुसार मुद्दा दायर भएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गलौच गरेको तथा एक समुदायमाथि कोरोना संक्रमण फैलाएको आरोप लगाएर सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको भन्दै जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको हो ।
सामाजिक सद्भाव बिगार्न खोजेको विषयमा मुख्य अभियोग बनाइएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौंका सहन्यायधीवक्ता हरि रेग्मीले बताए । उपाध्यायले कोरोना संक्रमणमा एक समुदायलाई आरोप लगाएको फेसबुक स्टाटस अभियोगपत्रमा राखिएको छ । यसम्बन्धमा मुस्लिम समुदायबाटै उजुरी समेत रहेको रेग्मीले बताए ।
गृह मन्त्रालयले पनि उनीविरुद्ध उजुरी दिएको थियो । अभियोगपत्रमा गृह मन्त्रालयको उजुरी उल्लेख छ । जसमा उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमा गालीगलौच गरेको उल्लेख छ । प्रहरीको साइबर ब्यूरोले चैत १० मा उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गमार्फत उनीमााथि मुद्दा अघि बढाइएको हो । प्रहरीले तीन दिनमै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रधानमन्त्री ओलीको शरिरमा चार वटा मिर्गाैला रहेको र उनको मस्तिष्क समेत प्रत्यारोपण गर्नुपर्ने जस्ता उपाध्यायले गरेका ट्वीटलाई अभियोगमा राखिएको छ । विवाद भएपछि उपाध्यायले ती ट्वीट हटाएका थिए । उनीमाथि धेरै ट्वीट तथा फेसबुक स्टाटस गलत सूचनाका आधारमा लेख्ने गरेको आरोप लागेको छ।
सरकारको आलोचना गरेकै आधारमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भइरहेको छ । २४ दिनसम्म थुनामा राख्न सक्ने भएपनि आलोचनापछि प्रहरीले तीनमै अनुसन्धान सकाएको हो ।
अन्य सामान्य नागरिक पक्राउ पर्दा प्रहरीले प्रेस बिज्ञप्ती जारी गर्ने भएपनि उपाध्याय पक्राउबारे औपचारिक रुपमा केही बोलेको छैन ।
बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार उनलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ ।