काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री बालकृष्ण खाँण, तत्कालिन गृह सचिवसहित ३० जनाविरुद्ध अदालतमा मुद्दा चलिसकेको छ ।
यी सबै ‘भिआइपी’ अभियुक्तविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्ध अपराध र एकीकृत कसुरमा यतिबेला उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ । यही विचमा नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धान चलिरहेका बेला एकजना व्यक्ति राजनीतिक ‘विचौलिया’ भनेर बयानमा पोलिए । ति थिए– बेचन झा । शरणार्थीका नाममा ठगी प्रकरणमा तानिएका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले नै बेचना झा नाम पोलेका छन् । काठमाडौंका जिल्ला सरकारी वकीलसँगको बयानमा झाको नाम पहिलोपल्ट खुलेको थियो ।
झा पक्राउ पर्नासाथ बूढानीलकण्ठमा भुइँचालो जानुले पनि आरजु राणा र झाको बीच गहिरो सम्बन्ध छ भन्ने पुष्टि गर्छ । झा पक्राउ पर्नासाथ आरजु आत्तिदै बालकोट पुगेर ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरेको घटनाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको संलग्ता पुष्टि हुन्छ ।
झाले लिएको २ करोड आरजुलाई दिएकै कारण आरजु आत्तिएको हुनसक्ने अनुमान छ । आरजुले नै झालाई पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग परिचय गराएका थिए । स्रोतका अनुसार आरजु राणाले नै खाणलाई फोन गरेर झाको काम गर्न निर्देशन दिएका थिए । त्यतिबेलासम्म झाको विषयमा खाण अनभिज्ञ नै थिए ।
पूर्वगृहसचिव पाण्डेबाटै झाको नाम बयानमा पोलिएपछि उनी को हुन् भनेर सर्वत्र चासो र खोजीको बिषय बन्दै आएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान शुरु भएदेखि नै उनी फरार थिए । छानबिनका क्रममा झाका नाममा रहेको दुई करोड रुपैयाँको चेक समेत प्रहरीले फेला पारेको थियो । बयानकाक्रममा पाण्डेले झालाई भारतीय नागरिक रहेको बताउँदै हुलिया खोलिदिएका थिए ।
सरकारी वकील स्रोतका अनुसार पाण्डे स्वयम्ले बेचन झा पक्राउ परको खण्डमा थप तथ्य स्पष्ट हुने भन्दै बयानमा खुलाइदिएका छन् । झालाई पाण्डेले ‘राजनीतिक बिचौलिया’ को नामाकरण गरेका छन् । झा राजनीतिक रूपमा सम्पर्कमा आएको जिकिर पाण्डेको थियो ।
झाको नामै किटेर सचिव पाण्डेले शरणार्थी प्रकरण ‘राजनीतिक कनेक्सन’ को विषय भएको दाबी गरेको बताइन्छ । अभियुक्त पूर्व सचिव पाण्डेले सरकारी वकीलसँगको बयानमा विगतदेखिको गतिविधि र आफ्नो कार्यकालमासम्पर्कमा आएका व्यक्तिहरूको ‘कनेक्सन’ हेर्दा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिएको किटान गरेका छन् ।
‘राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ,’ तत्कालिन गृह सचिव पाण्डेले भनेका छन् ।
यसरी शरणार्थी काण्डमा मुद्दा दर्ता भएर बयान चलिरहेका बेला एक्कासी नक्कली शरणार्थी प्रकरणमा मुख्य राजनीतिक बिचौलिया भनेर किटान गरिएका झा दृष्यमा आएका हुन् । झाको हुलिया खुलेपछि ‘लहरो तान्दा पहरो थर्किने’ अनुमान उतिबेलै गरिएको हो ।
झा विगतमा विशेषगरी काँग्रेसका नेताहरूविच विचौलियाको काम गर्ने गरेको स्रोतको दाबी छ । झाको नाममा काटिएको २ करोड रुपैयाँको चेकले पनि उक्त कनेक्सनलाई आधार दिएको छ । झा लामो समयदेखि नेपालमा बस्दै आएका भारतीय नागरिक हुन् ।
स्रोतका अनुसार झाले सिरहाकी एक महिला बिहे गरेका छन् । हाल उनको स्थायी बसोबास काठमाडौंको मध्य बानेश्वरमा छ । बेचन झा नेपाली कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् । तर भारतीय नागरिक भए पनि झा ४० वर्षदेखि काठमाडौंमै बसोबास गरिरहेका छन् ।
स्रोतका अनुसार, ‘शरणार्थी प्रकरण मात्र नभै विभिन्न स्वार्थ समूहसँग मिलेर नेता र गिरोहविच राजनीतिक विचौलियाका रुपमा उनले धन्दा चलाउने गरेका थिए ।’ बताइए अनुसार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालादेखि हालका सभापति शेरबहादुर देउवासम्मै झाको गहिरो सम्बन्ध थियो ।
झाले कांग्रेसका संस्थापक नेता बेदानन्द झाको नाता जोडेर नजिकिएका थिए । उनले पछिल्लो समय खासगरी काँग्रेसका सभापति देउवा, देउवा पत्नी आरजु राणा र अन्य उच्च नेतासँग सम्पर्क स्थापित गर्न सफल भएका थिए । ‘झाको काँग्रेसका उच्च नेताको वेडदेखि भान्सासम्मै पहुँच हुने गर्दथ्यो छ,’ स्रोत भन्छ, ‘पछिल्लो समय मात्र नभै टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा समेत झाको राम्रो हिमचिम रहेको थियो ।’ झाले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ देखि एमालेका माथिल्लो तहका नेतासँग पनि क्रमशः सम्बन्ध स्थापित गर्दै गएकोे जनाइएको छ ।
झा पक्राउ पर्नासाथ बूढानीलकण्ठमा भुइँचालो जानुले पनि आरजु राणा र झाको बीच गहिरो सम्बन्ध छ भन्ने पुष्टि गर्छ । झा पक्राउ पर्नासाथ आरजु आत्तिदै बालकोट पुगेर ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरेको घटनाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको संलग्ता पुष्टि हुन्छ ।
शरणार्थी काण्डमा झाका नाममा काटिएको दुई करोडको चेकले पनि सोही तथ्यलाई पुष्टि गर्दछ । जुन रकम नक्कली शरणार्थीका नाममा नेपाली युवाबाट असुलेका थिए । गहिरो प्रहरी अनुसन्धानपछि झा कनेक्सन र उक्त रकमको रहस्योद्घाटन हुने अनुमान चलिरहेका बेला प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । भारतीय दूतावाससँग समेत बेचनको गाढासम्बन्ध रहेको बताइन्छ । नक्कली शरणार्थी गिरोहका प्रमुख पात्रहरु धमाधम पक्राउ पर्न थालेपछि उनी फरार भएका थिए ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा राखिएका उनी गत असार १४ गते राती नेपाल–भारत सिमा क्षेत्रमा लुकेर बसेको अवस्थामा प्रहरीबाट समातिएका थिए ।
पूर्वसचिव पाण्डेको बयानपछि प्रहरीले गरेको अनुसन्धानमा एकजना पीडितले झालाई २ करोडको चेक दिएको रहस्य खुलेको थियो । चेक थमाउने ति पीडित व्यक्तिसमेत पक्राउ परेका थिए । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको बताइन्छ ।
झाको मुख्य पेशा भने ठेक्कापट्टा व्यवसाय रहेको उनलाई चिन्नेहरु बताउँछन् । नेता र मन्त्रीसँग कनेक्सन मिलाएर जलविद्युत् क्षेत्रका ठूल्ठूला ठेक्का लिने गरेका थिए । झाले विद्युत प्राधिकरणबाट ट्रान्सफर्मर खरिददेखि ‘एसआर कन्डक्टर’ खरिदसम्मका ठेक्काहरू हात पार्दै आएको बताइन्छ । अहिले झालाई पक्राउ गरी छानविनको दायरामा ल्याइएपछि आशंकित व्यक्तिहरुले झालाई उम्काउन यतिबेला पर्दा पछाडीबाट विभिन्न संपर्क सूत्रमार्फत प्रहरी र अदालतसम्मै जाल फिँजाएको स्रोतको दाबी छ ।