काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा गएको पहिरोमा परी त्रिशुलीमा नदीमा वेपत्ता भएको बस र यात्रु रोज्न मोटरबोटसहित नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
कावासोतीमा रहेको वन तथा पर्यावरण निर्देशनालय अन्तर्गतको सेनाको कमान्डमा चितवन निकुन्ज र अमलटारीमा रहेको सेनालाई प्राविधिक जनशक्तिसहित परिचालन गरिएको हो ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले हराइरहेका यात्रु खोज्न नारायणी नदीमा प्राविधिक जनशक्ति र मोटरबोटसहित मंगलबारदेखि सेना परिचालन गरिएको जानकारी दिए ।
बस्ती नभएको स्थानमा स्थानीयको निगरानी हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा समेत सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारीले सुनाए । चितवनतर्फ पनि त्यसरी नै सेना खटाइएको छ ।