Logo
Logo

नेकपा विवादः सचिवालय बैठक बस्दै, प्रतिवाद गर्न सांसदहरुलाई ओलीको निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ बैशाख ।
अन्तरविरोध चर्कदै गएपछि नेकपाका नेताहरूबीच मंगलबार सचिवालय बैठक बोलाएर छलफल गर्ने सहमति भएको छ । कोटेश्वर छलफलअघि बालुवाटारमा प्रधानमन्त्री ओली र नेपाल, खुमल्टारमा अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको बेग्लाबेग्लै सहमतिपछि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोली एकलौटी ढंगले चल्न लागेपछि पार्टीका सबै समूह उनीविरुद्ध लागेका छन् । केही त उनलाई प्रधानमन्त्री पदबाट हटाउने पक्षमा समेत उभिएका छन् ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले आफूनिकट सांसदहरूसँग छलफल गरेका छन् । सोमबार साँझ करिब तीन दर्जन सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको बताए । छलफलमा सहभागी सांसद विजय सुब्बाले प्रधानमन्त्रीले विकसित राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेको बताए । ‘मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेको संकटका वेला अहिले सरकारमाथि पार्टी्भित्रैका शीर्ष नेताहरूको अगुवाइमा घेराबन्दी भइरहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको छ, यसबारे तपाईंहरू सचेत हुनुपर्छ, आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस् ।’

ओलीले सधैँ जालझेल र षड्यन्त्र मात्रै गर्नुभो : नेपाल

वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेका थिए । ‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका साथीरूलाई इगो साँध्ने, जिम्मेवारीमा वञ्चित गर्ने काम भो, अहिले पनि उहाँले जाल–झेल षड्यन्त्र गर्ने, एउटा नेताविरुद्ध अर्कोलाई लडाउने, जुधाउने, फुटाउने काम गर्नुभयो, सामूहिक निर्णय र संस्थागत पद्धतिलाई जहिल्यै इग्नोर गर्ने काम गर्नुभो, त्यसकारण उहाँ जिम्मेवारीबाट हट्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने ।

ओलीसँगको छलफलमा नेता नेपालले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । लगत्तै ओली समूह र नेपाल समूहका नेताहरूबीच संवाद चलिरहँदा अध्यक्ष प्रचण्डले पालैपालो खुमलटारमा खनाल र गौतमसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताए । दुई नेताबीचको दुई घन्टा लामोे छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टी्भित्र उत्पन्न समस्याबारे समेत समीक्षा भएको थियो । त्यस्तै, प्रचण्डसँगको भेटलगत्तै उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँग बैठकका विषयमा केन्द्रित रहेर टेलिफोन संवाद गरेका थिए ।

विवादको जिम्मेवारी लिएर ओली कमरेडले निकास दिनुपर्छ : सुरेन्द्र पाण्डे

सचिवालय र स्थायी समितिको बैठक बोलाउनुपर्छ, पार्टी्भित्र विवाद चर्किनुको सबै जिम्मेवारी लिँदै प्रधानमन्त्री र अध्यक्षको हैसियतबाट ओली कमरेडले निकास दिनुपर्छ भनेर हामीले स्पष्ट भनाइ राखेका छौँ ।

माधव कमरेडले स्पष्ट भन्नुभयो, ‘वामदेवजीले पनि फोन गरेर शनिबारको भेटमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भनेका कुरामा म अडिग छु, त्यसबाट म दायाँ–बायाँ हुन्न र भएको छैन भनिरहनुभएको छ, संकट समाधानको उपाय त्यही हो, अरू उपाय केही छ भने पनि बैठकमा छलफल गरेर अघि बढौँ।’

प्रतिक्रिया दिनुहोस्