Logo
Logo

सिमलताल पहिरो : गृह मन्त्रालयको अध्ययन टोली घटनास्थलमा


378
Shares

काठमाडौं । गृह मन्त्रालयको एउटा टोली चितवनको सिमलताल पुगेको छ । सिमलतालमा पहिरोमा परी दुईवटा यात्रुवाहक बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू बुधबार बिहान घटनास्थलमा पुगेका हुन् ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका छन् । अवलोकनका क्रममा यस्ता घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने सहसचिव रिजालले बताए । उनले भने, ‘आगामी दिनहरूमा यस्ता खालका घटनाहरू के गर्दा दोहोरिँदैन, कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि हामी हेर्ने छौँ ।’ उनले लेदोसहित खसेको पहिरो उच्च विन्दुसम्म पुगेर हेर्ने बताए ।

साथै? अध्ययन टोलीले मृतक र बेपत्ताका आफन्तहरूसँग पनि कुराकानी गर्ने भएको छ । पीडित परिवारले मृतकको शव अस्पतालमा गल्न थालेको गुनासो गर्दै आएका छन् । त्यसबारे अस्पताल प्रशासनले शव गृहलाई व्यवस्थित गराउनुपर्ने उनले बताए ।

गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सिमलताल पहिरोमा परी दुई वटा बस बगाउँदा बससहित ६५ जना बेपता भएका थिए । तीमध्ये अहिलेसम्म १५ जना शव भेटिएको छ । बेपता अन्यको खोजीकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्