काठमाडौं । गत जेठ ११ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एउटा उपनाम दिए- सहकारीबन्धु गठबन्धन ।
एमाले अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टी-स्टेट प्रकरणमा मुछिँदै आएका छन् भने रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएका छन् । ती दुई प्रकरणमा एमाले र रास्वपाले एक–अर्कोलाई साथ दिएपछि उनले ‘सहकारीबन्धु गठबन्धन’को संज्ञा दिएका थिए ।
जेठ १३ गते पनि उनले फेरि त्यही कुरा दोहोराए । उक्त दिन कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।
उक्त प्रदर्शनमा सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्मा कुर्लिएका थिए- ‘एउटा सहकारीमा पूरै ड्याम्मै काँध हाल्ने, अर्कोले गिरीबन्धुमा पुरै काँध हाल्ने । त्यसैले आज हामीले नामकरण गरेका छौँ । एउटाले सहकारी भन्ने, अर्कोले गिरीबन्धु भन्ने । मिलाएर राख्दा यो सहकारीबन्धु गठबन्धन हो ।’
शर्माले भाषण गरिरहँदा उपस्थित नेता–कार्यकर्ताले परर… ताली बजाए । एमाले र रास्वपालाई उपनाम दिएको एक महिनामै सत्ता समीकरण परिवर्तन भयो । असार १७ गते मध्यरातमा कांग्रेस शभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्यको सहमति भयो । त्यही सहमतिअनुसार अहिले ओली देशको ४५औँ प्रधानमन्त्री बनिसकेका छन् ।
विश्वप्रकाशको भाषामा भन्दा अहिले ‘सहकारीबन्धु’ फुटेर ‘शरणार्थीबन्धु गठबन्धन’ बनेको छ ।
एमाले अध्यक्ष ओली गिरीबन्धु टी– स्टेट प्रकरणमा मुछिँदै आएका छन् भने कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा मुछिँदै आएका छन् । कांग्रेसले उनै आरजुलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिएको छ ।
‘शरणार्थीबन्धु गठबन्धन’ बन्नुमा बेचन झा मुख्य कारण भएको बताइन्छ । असार १४ गते नक्कली शरणार्थी प्रकरणमा फरार अभियुक्त बेचन झा पक्राउ परेका थिए ।
त्यसको भोलिपल्टै असार १५ गते आरजु राणाले शेरबहादुर देउवालाई लिएर बालकोट पुगिन् । त्यसको दुई दिनै सत्ता समीकरण परिवर्तन भयो । बेचन झा पक्राउ गरेर ठूलै उपलब्धि हासिल गरेँ भन्ठानेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यही कारण सत्ताच्युत हुनुपर्याे ।
बेचन झा बिचौलिया पृष्ठभूमिका विवादास्पद भारतीय व्यापारी हुन् । उनको आरजु राणासँग विशेष सम्बन्ध छ । झा पक्राउ पर्नासाथ बुढानीलकण्ठमा भुईँचालो जानुले पनि आरजु राणा र झाको बीच गहिरो सम्बन्ध छ भन्ने पुष्टि गर्छ ।
विपक्षीमा हुँदा कांग्रेसले एमाले अध्यक्ष ओली मुछिएको गिरीबन्धु प्रकरण जोडतोडले उठाउँदै आएको । उनी आरोपितलाई काँध हालेर प्रधानमन्त्री बनाएको कांग्रेसले गिरीबन्धु प्रकरणको ढाकछोप गर्ला कि अनुसन्धान अगाडि बढाउला यो चासोको विषय बनेको छ ।
अहिले कांग्रेस नेता रमेश लेखकको गृहमन्त्रालयको कमान्ड सम्हालेका छन् । सुशासनको मुद्दाबाट गृहलाई अझ बढी तिखार्दै सरकारको नतिजामा इट्टा थप्न मन्त्रालयको बागडोर सम्हालेका लेखकमाथि चुनौतीको चाङ खडा भएको छ ।
हिजो प्रतिपक्षीको बेन्चमा बसेर तत्कालीन गृहमन्त्रीमाथि प्रश्नको थुप्रो थोपरेका लेखक अहिले आफैँ जवाफ दिने ठाउँमा पुगेका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा र कांग्रेस नेता बालकृष्ण खाँणको नाम मुछिएको शरणार्थी काण्डमा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा पुर्पक्षका लागि थुनामा छन् ।
गिरीबन्धु टि स्टेट प्रकरणमा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने आँट उनले राख्छन् वा राख्दैनन् त्यो पनि हेर्न बाँकी छ । त्यस्तै उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य आरोपित बालमन्दिर जग्गा काण्डको फाइलमा पनि काम गरेर देखाउनु पर्ने छ ।
आफैँ निर्वाचित जिल्ला कञ्चनपुरकी १४ वर्षीया नाबालिकाको बलात्कारपछि भएको हत्याबारे निर्मला पन्तलाई न्याय दिनु पर्नेछ । प्रतिपक्षी हुँदा जीबी राई खोजेका लेखकले विदेशमा रहेका राई खोज्छन् कि खोज्दैनन् ? त्यो पनि उनका लागि चुनौती बन्ने देखिएको छ ।
मुख्य दुई ठूला यी दलले संविधान संशोधन गरेर राजनीतिक स्थायित्व र स्थिरता दिने प्रतिबद्धता जनाएका छन् । तर, दुई ठूला दलले आफूहरूको गठबन्धनप्रति विश्वस्त पार्ने प्रयास गरिरहे पनि उनीहरूको आगामी यात्रा सोचेजस्तो सहज हुने देखिँदैन ।
एमाले र कांग्रेसको कार्यशैलीमा तात्त्विक अन्तर नरहे पनि विचारका हिसाबले यी दुईबीच तादम्यता देखिँदैन । एमालेले आफूलाई कम्युनिस्ट पार्टी बताउँदै आएको छ भने कांग्रेस आफूलाई प्रजातन्त्रको मसिहा ठान्छ । यी दलले अङ्गीकार गरेको सिद्धान्त अलग भए पनि उनीहरूको व्यवहारमा तात्त्विक अन्तर नदेखिएकाले गठबन्धनको दीर्घायुका लागि यो फ्याक्टरको भूमिका खासै देखिँदैन ।
पहिलो र दोस्रो ठूलो दल भएकाले वर्चस्वको लडाइँमा एमाले–कांग्रेस प्रवेश गरेको स्थितिमा असार १७ गते मध्यरात बन्द कोठामा गरिएको गुप्त सहमतिले वियोगान्त नियति झेल्न सक्छ ।