धरान । सञ्चारकर्मी सञ्जिता धमलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सञ्जिताले बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफूमाथि आक्रमण भएको बताएकी छन् । आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
सञ्जिताले धरानका मेयर हर्क साम्पाङका समर्थकले आफूमाथि कुटपिट गरेको आरोप लगाएकी छन् । प्रहरीले पनि साम्पाङको समर्थकले कुटपिट गरेको हुन सक्ने अनुमान गरेको छ । केही समयता यता मेयर साम्पाङ र सञ्जिताबीच विवाद हुँदै आएको थियो । मेयर साम्पाङले महिलाहरूलाई सञ्चिताविरुद्ध आन्दोलन गर्न समेत उक्साउँदै आएका थिए ।
पक्राउ गरिएकालाई इनरुवा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
सञ्चारकर्मी सञ्जितामा अनुसार उनी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् । उनले फेसबुकमा लेखेककी छन्, ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’ उनले मोबाइल खोस्ने प्रयाससमेत गरेको उल्लेख गरेकी छन् ।
उनले अगाडि भनेकी छन्, ‘म बिरामी अवस्थामा उपचारको लागि पुगेको थिएँ । यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो नै हुन्छ । अस्पताल भनेको उपचारको लागि, शान्तिको लागि र सुरक्षित ठाउँ हो । तर, यहाँ उल्टै असुरक्षित महसुस गरायो ।’
तर, मेयर साम्पाङले भने पक्राउ परेका महिलाहरू निर्दोष रहेको भन्दै विना सर्त रिहा गर्न प्रहरीसँग अनुरोध गरेका छन् । उनले ती पक्राउ परेका महिलाहरुलाई रिहा नरे ‘विष्फोट हुने’ चेतावनी समेत दिएका छन् । साम्पाङले स्टाटसमा लेखेका छन्, ‘दमन नगर, विस्फोट होला । शान्ति सुरक्षा सबैको जिम्मेवारी हो । आ आफ्नो भूमिकामा इमानदार रहौँ । जय देश ।’
केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी सञ्जिताले धरानका जनप्रतिनिधिहरुले घुस खाने गरेको भन्दै प्रश्न गरेकी थिइन् । उनले प्रश्न गरेपछि मेयर साम्पाङले धमलालाई कार्यालयमा बोलाएर पक्राउ गर्न निर्देश दिएका थिए । उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि लछार पछार भएको थियो । सञ्चारकर्मी भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
सञ्जितालाई काराबाही नभएको भन्दै मेयर साम्पाङले कारबाहीका लागि गृह मन्त्रालयमा समेत पत्र पठाएका थिए । सञ्जिताले पनि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएकी छन् ।