Logo
Logo

सम्पादकीय : बालुवाटार निदाएको छैन


- दृष्टि न्युज/संवाददाता

315
Shares

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तिमा ६ महिना आराम गर्ने सल्लाह उनका चिकित्सकहरुले दिएका छन् । तर, प्रधानमन्त्री आफैँ भन्छन्, ‘म दिनको १८ घण्टा काम गर्छु ।’ उनको यो भनाइले उनी कसैको कुरा सुन्न मान्न तयार छैनन् । ज्यान नैै जोखिममा राखेर दैनिक १८ घण्टा काम गर्ने शैलीले उनको ज्यानमात्र होइन, सिंगो पार्टीको जीवनमाथि पनि खतरा उत्पन्न भएको छ ।
सिंगो नेपाली जनतालाई ‘लकडाउन’मा राखेर उनले दुई वटा अध्यादेश ल्याएर शान्त तलाउमा ढुंगा हान्ने काम गरे । अहिले त्यसको तरंगले नेकपाका नेता कार्यकर्तालाई तरंगित बनाइरहेको छ । अब यो तरंगको किनारा कसरी लाग्छ भन्ने कुराले नेपालको भावी राजनीतिलाई दिशा निर्देश गर्नेछ ।
झट्ट सुन्दा मधेश केन्द्रित दलहरु फुटाउन यो अध्यादेश ल्याउनुपरेको तर्क प्रधानमन्त्री ओलीको भएपनि त्यस पछाडि अरु उद्देश्य के–के थिए भन्ने कुरा रहस्यको गर्भमै छ । तर, पनि उनले यो अध्यादेश ल्याएर एउटा तीरले दुईटा शिकार गर्न खोजेको कुरा अब लुकाएर पनि लुक्न सक्ने अवस्था छैन । यहि भएर नेकपाका शिर्ष नेताहरुले उनको नियत माथि नै शंका गरेका छन् ।
अझ स्पष्ट रुपमा भन्ने हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेम गौतमहरुले आफूलाई काम गर्न दिएन । त्यसैले यिनीहरुको कचकचदेखि बाहिरन यो अध्यादेश ल्याएको हो । त्यसको ‘होमवर्क’ एक वर्ष अगाडिदेखि भएको थियो । यो अध्यादेश ल्याउनुको दुई वटा कारणमध्ये एउटा कारण समाजवादी फोरम र राजपालाई फुटाएर सरकारमा सहभागी गराउने, दोस्रो कारण हो नेकपा फुटाएर ति दलसँग मिलेर सांसदमा १३८ संख्या पु¥याउने । र, माओवादीलाई सरकारबाट विदा गर्ने ।
अहिलेका लागि यो ‘च्याप्टर’ क्लोज भएजस्तो देखिएपनि षडयन्त्रको तानाबाना जारी नै छ । त्यसैले जसरी भएपनि माधवकुमार नेपाललाई आफ्नो पक्षमा पार्ने दाउ बालुवाटारले खेलिरहेको छ । ओलीको उत्तरधिकारीको रुपमा नेपाललाई उभ्याउने आश्वासन बालुवाटारले दिएपनि त्यस्तो अवस्थामा प्रचण्डपछिको शिकार भनेकै माधव नेपाल हो । अब हेर्नु छ, बालुवाटारको यो माकुरीजालमा को–को फस्दै जाने हुन् ? प्रधानमन्त्री ओलीले त्यतिकै १८ घण्टा काम गर्छु भनेर पटक पटक भनेका होइनन् । १८ घण्टा उनले गर्ने कामभित्र यो षडयन्त्र पनि बुनिएकाले नेकपाका नेताहरु जाग्नुपर्छ । किनभने, बालुवाटार निदाएको छैन ।

प्रकाशित मिति : मंगलबार, १६ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्