Logo
Logo

पइचिङ्गमा रञ्जना लिपी


3.7k
Shares

लामो छुट्टीको अन्त्यतिर चीनको राजधानी पइचिङ्ग पुग्न मन लाग्यो । तीनैजना रेल चढेर पइचिङ्ग पुग्यौँ । पइचिङ मेडिकल युनिभर्सिटीमा नेपाली विद्यार्थीहरु थिए । सरिता पाण्डेसँग त पुरानै चिनजान थियो ।

उर्मिला शाक्यलगायत अरु धेरै नेपाली विद्यार्थीहरुसँग पनि चिनजान गर्न पाएँ । मेडिकल युनिभर्सिटीकै होस्टेलमा बास बस्यौँ । उनीहरुको पनि छुट्टीको समय भएकाले सबैले धेरै सहयोग गरे ।

विदेशमा नेपाली मित्रहरु भेट्नु जहिले पनि रमाइलै हुन्छ । त्यहाँ चाहिँ होस्टेलमै भएपनि हाम्रो निम्ति घरमै बसेजस्तो भयो । पइचिङ्गमा थ्येन–आन–मन स्क्वाएर लगायत धेरै ऐतिहासिक ठाउँहरु घुम्यौं । रमायौं ।

मेरो निम्ति त सबै नयाँ ! सरोजले भने प्रशस्त घुमिसकेको ठाउँ थियो । तर, उनकै आँखाले हेर्दासमेत धेरै परिवर्तन भइसकेको रहेछ ।

पहिलोचोटी ग्रेटवाल हेर्न जाँदा भने बच्चालाई लान गाह्रो हुने भनेकोले उर्मिला शाक्यको साथमा छोडिदियौँ । कति सहयोगी मित्र ! झण्डै दिनभरी नै लाग्ने यात्रामा छोरी नेपाली अन्टीहरुसँग खेलेर बसी । बच्ची पनि सारै समझदार थिई, जोसँग पनि सजिलै मिलेर बस्न सक्ने क्षमता थियो उसँग ।

पइचिङ्ग नै पुगिसकेपछि नेपालबाट उहिल्यै गएका अरनिकोले बनाएका कृति हेर्न छोड्ने कुरै भएन । हामी श्वेत स्तुप हेर्न गयौँ । चीनका अरु मन्दिर, विहारभन्दा भिन्दै लाग्ने श्वेत स्तुपलाई चिनियाँ भाषामा ‘पाइ था’ भन्दा रहेछन् । पाई भनेको सेतो र था भनेको स्तुप वा धरहरा ।

त्यहाँ नेपालभाषाको पुरानो लिपी रञ्जना लिपीमा ‘ॐ मणि पद्मे हूँ’ ठाउँ ठाउँमा लेखिराखेको देख्दा अचम्म लाग्यो । अरनिकोप्रति अझै बढी सम्मान जाग्यो । पुर्खाप्रति गर्व लाग्यो । मन अझै खुसी भयो । अरनिको त्यसै अरनिको भएका रहेनछन् ! चीन र नेपालको ऐतिहासिक सम्बन्धको एउटा ठूलो उदाहरण पनि हो त्यो ।

शाङ्हाई बस्दा त पढ्न, विदेशी साथीहरू बनाउन र उनीहरुसँगै दुःखसुखका कुरा गर्नमै समय बित्थ्यो । पइचिङ्ग पुगेपछि भने चीनलाई अलि बढी देख्न र बुझ्न पाएको महशुस भयो । पुराना शाही दरबार पनि देख्न पाएँ । कति सुरक्षाका साथ कति जतनले सिङ्गारेर राखेका तिनीहरुले ! पर्यटकका निम्ति ती दरबारले ठूलो आकर्षण सृजना गरेका रहेछन् ।

जहाँ गए पनि मेला लागेजस्तो मान्छेको भीड । त्यतिबेलासम्म विदेशी टुरिष्टहरू अझै अहिलेजति थिएनन् । ठूलो जनसंख्या भएको चीनमा भर्खरै हुर्किँदै गएको आन्तरिक पर्यटनको संस्कारले गर्दा जहाँ पनि चिनियाँहरुकै भीड देखिन्थ्यो ।
अर्कोदिन बच्चालाई पनि लिएर चिडिया खाना हेर्न गयौँ । त्यहाँपनि उस्तै भीड । पहिले नदेखेका जनावरहरु देख्न पाइयो । जिराफ , ऊँट, पाण्डा आदि ।

पाण्डा त उनीहरुको राष्ट्रिय गौरव नै भइगयो ! त्यो रमाइलो झिल्के भालुजस्तो जन्तुलाई त राजकुमारलाई जत्तिकै पुल्पुल्याएर, तालिम दिएर एकदमै रमाइलो बनाईराखेको हुँदोरहेछ । बच्चाहरुको निम्ति पनि पाण्डा नै सबभन्दा ठूलो आकर्षण हुँदो रहेछ । छोरी पनि बेस्सरी रमाई पाण्डा देखेर ।

भर्खर चीन पुगेको बेला शाङहाईको चिडियाखानामा जाँदा जस्तो असहज भएन । चीनमा बानी परिसकेको थियो र भाषा पनि बोल्न थालीसकेकी थिएँ ।

यात्रा गर्दै जाँदा बानी पनि पर्ने, अझै धैरै यात्रा गर्न मन पनि लाग्दै जाने हुँदो रहेछ । केहीसमय अगाडि मात्र तत्कालीन सोभियत संघबाट दुईजना साथी हाम्रो पाहुना बनेर शाङ्घाई आएका थिए ।

उनीहरुबाट सोभियत संघबारे धेरै थाहा पाएका थियौँ । उनीहरूले रुसबाट बच्चाको लागि ल्याइदिएको खेलौनाले पनि अप्रत्यक्ष रूपमा रूसबारे, त्यहाँको संस्कृति, परम्पराबारे केही बताइरहेको थियो ।

सात दिन रेल चढेर शाङघाई आईपुगेका मित्रहरूको कुरा सुन्दा र हामीलाई रुस आउने निम्तो दिँदा त्यहाँ जाने रहर जागेको थियो ।

पईचिङ घुमिसकेपछि त्यो इच्छा झनै बढ्यो । तर, जे गर्न पनि समय, पैसा, सानो बच्चा आदि सबैको ख्याल राख्नु पर्ने हुँदा सात–सात दिन लगाएर ट्रेनको यात्रा गर्ने कुरा तत्काल गर्न सकिएन ।

पछि भनेको पछि नै हुने रहेछ । हामी चीनमै हुँदा हुँदै सोभियत संघ ढल्यो । सबै कुरा फरक भयो । त्यो गोलमालका बीचमा जाने कुरा आएन ।

जीवनमा मौका पाएर, निम्तो पाएर पनि जान नपाएको ठाउँ हो सोभियत संघ– जो अब कहिल्यै देखिने छैन । जीवनभर नै खड्किन्छ यो कुरा ! अब त झन् रुस र युक्रेनकै बीच यस्तो लडाईँकै स्थिति आइसक्यो !

के थियो, कस्तो थियो सोभियत संघ भन्ने कुरा अब फरक मान्छेका फरक कुरा सुन्न र पढ्नमै मात्र सीमित हुने भयो । आफैले देख्न पाइएन ।

छुट्टी सकिन लागेकोले हामी ४,५ दिन पछि नै फर्क्यौं पइचिङ्गबाट । विशाल चीनका विशाल चोक, फराकिला बाटा, संसारका सात आश्चर्य मध्येको चीनको ग्रेटवालसँगै नयाँ नेपाली साथीहरु भेटेपछि मनमा खुसी बोकेर फक्र्यौं फेरि आ–आफ्नै युनिभर्सिटीमा ।

मेरो युनिभर्सिटीको एक जापानी साथी खायोको छुट्टीमा नेपाल जान्छु भन्थिन् । छुट्टी हुनुअघि नै भनेकी थिइन्– ‘म नेपाल जाँदा केही काम छ भने भन है, नेपालबाट केही झिकाउनु छ ?’ त्यो कुराले मलाई अर्को खुसी लागेको थियो ।

मेरी आमा दिदीहरुसँग भेटेर केही खबर ल्याइदिए हुन्थ्यो भन्ने मनमा आयो र मैले घरको ठेगाना दिएँ । उनी घुम्न हिंडेकी मान्छे । हलुका भएर हिँड्नुपर्ने साथीलाई काठमाडौंको झोछेँमा भएको घरमा आमालाई र दिदीहरुलाई भेट्न पठाएँ । चिठीसँगै बच्चाहरूलाई केही स–साना उपहार पनि पठाएकी थिएँ ।

उनी साँच्चै गइछन् । फर्केपछि तुरुन्तै भेट भयो । उनले त आमा दिदीहरुले पठाई दिएको एकदुई किलो चिउरा, लाखामरी आदिसमेत बोकेर आइछन् ।

मलाई लाज लाग्यो । तिब्बत पनि घुमेर फर्केकी साथीलाई त्यो सबै भारीले कति अप्ठ्येरो बनायो होला ! धन्यवाद सँगै क्षमायाचना पनि गरेँ । मेरो घरको समाचारनै ठूलो कुरा थियो मेरो निम्ति । तस्बिरहरु पनि खिचेर ल्याएकी रहिछन् । म अत्यन्तै खुसी भएँ ।

ज्यादै असल मन भएकी साथी खायोको नेपालबाट फर्केपछि उनीसँग मेरो सम्बन्ध अझै गाढा भयो । हालसम्म पनि उनीसँगको मित्रता कायम छ । उनको पढाई सकिसकेको थियो र जापान फर्किने तयारीमा थिइन् ।

मेरो निम्ति भनेर एउटा कलात्मक क्विल्ट आफ्नै हातले बनाउन थालिन् । बेलामा नसकिएकाले हवाई टिकटसमेत पछि सारेर, क्विल्ट बनाउन सकेर, मलाई उपहार दिएर, अनि मलाई जापान घुम्ने निम्तो दिएर मात्र फर्किन् । कस्तो आत्मियता ! कहिल्यै नबिर्सिने साथी भईन् उनी !

मेरो युनिभर्सिटीमा अरु देशबाट आएकाहरु भन्दा जापानी विद्यार्थीहरू धेरै थिए । मेरो घनिष्टता पनि अरुसँग भन्दा जापानी साथीहरूसँग नै भयो । मलाई लेखक बनाउने श्रेय पनि अरुलाई भन्दा जापानी साथीहरुलाई नै बढी दिन्छु ।

प्रतिक्रिया दिनुहोस्