जेनेभा, १६ वैशाख (एजेन्सी) । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ । अमेरिकामा संक्रमितको कूल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ ।
युरोपेली मुलुकहरुमा समेत गएको २४ घण्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ ।
कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २४ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार २९१ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ५२१ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार २०७ जना, जर्मनीमा ६ हजार १२६ जना, नेदरल्यान्ड्समा ४ हजार ५१८ जना, स्वीडेनमा २ हजार २७४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६५ जना, आयरल्यान्डमा १ हजार १०२, पोर्चुगलमा ९२८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ८०६ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६०३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, भारतमा ९३९, इन्डोनेसियामा ७६५ जना, इक्वेडरमा ६६३ जनाको मृत्यु भएको छ ।
कोरनाबाट युरोपमा १३ लाख ८ हजार ३८५ जना संक्रमित भएका छन्, जसमध्ये ४ लाख ४७ हजार ९६४ जना निको भएका छन् भने १ लाख २४ हजार ११५ जनाले ज्यान गुमाएका छन् । यस्तै, उत्तर अमेरिका १० लाख ९२ हजार १५० जना संक्रमित भएका छन् भने १ लाख ६९ हजार ६११ जना उपचारपछि निको भएका छन् । यहाँ ६१ हजार ६४३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, एसियामा ४ लाख ८४ हजार ५३८ जना संक्रमितमध्ये २ लाख ३७ हजार २९३ जना निको भएका छन् भने १७ हजार ६२५ जनाको मृत्यु भएको छ । यस्तै, दक्षिण अमेरिकामा १ लाख ४५ हजार २१२ जना संक्रमित भएका छन्, जसमध्ये ५१ हजार ६४६ जना उपचारपछि ठीक भएका छन् भने ६ हजार ७९३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, अफ्रिका मंगलबारसम्ममा ३४ हजार ५१ जनालाई संक्रमण देखिएको छ भने १० हजार ५८४ जना उपचारपछि घर फर्किएका छन् । यहाँ १ हजार ४७२ जनाले ज्यान गुमाएका छन् । यस्तै, अस्ट्रेलियामा ८ हजार २९९ संक्रमित भएका छन्, त्यसमध्ये ६ हजार ८९४ जना निको भएका छन् । यहाँ १०३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै दक्षिण एसियाली मुलुकहरुमा भारतमा २९ हजार ४५१ जना संक्रमित भएका छन् भने ७ हजार १३७ जना निको भएका छन् । भारतमा ९३९ जनाको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा १४ हजार ७९ जना संक्रमित भएका छन् भने यहाँ ३ हजार २३३ जना निको भएका छन् । यहाँ ३०१ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, बंगलादेशमा ५ हजार ९१३ जना संक्रमित, १३१ जना निको भएका छन् भने १५२ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा १ हजार ८२८ जना संक्रमित, २२८ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । श्रीलंकामा ५८८ जना संक्रमित भएका छन् भने १२६ जना निको भएका छन् यहाँ ७ जनाको मृत्यु भएको छ ।
यस्तै, माल्दिभ्समा २२६ जना संक्रमित भएकामा १७ जना निको भएका छन् । त्यस्तै, नेपालमा मंगलबारसम्म ५४ जना संक्रमित देखिएका छन् । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भुटान ७ जना संक्रमितमध्ये ५ जना निको भइसकेका छन् । भुटानमा हाल २ जना उपचाररत छन् ।