Logo
Logo

रथी अशोकराज सिग्देलको उमेरबारे केही विवाद छैन: नेपाली सेना


252
Shares

काठमाडौं । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेरबारे कुनै विवाद नरहेको बताएको छ । आज (बिहीबार) जंगी अड्डामा पत्रकार सम्मेलन गर्दै सूचना अधिकारी समेत रहेका सहायक रथी गौरबकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्ट पारे ।

सञ्चार माध्यमहरूमा सिग्देलको नागरिकता विवाद रहेकाबारे खबरहरू प्रकाशित भएका थिए । त्यसतर्फ लक्षित गर्दै सेनाले सिग्देलको नागरिकताबारे कुनै विवाद नहरेको दावी गरेको हो । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति बन्दै छन् ।

सिग्देल उपरथीबाट रथीमा बढुवा भए लगतैदेखि उनको उमेरलाई लिएर विवाद सिर्जना भएको छ । उनी रथीमा बढुवा हुनुअघि उपरथी ताराध्वज पाण्डे पनि रथीमा सिफारिस भएका थिए । तर उनको नागरिकतामा कीर्ते गरेको आरोप लागेको थियो । आरोपपछि पाण्डेले पदबाट राजीनामा दिए ।

उनको राजीनामा पछि रोलक्रम अनुसार सिग्देल रथीमा बढुवा भएका थिए । ‘अशोक जरसाबको विषयमा उहाँको तत्कालीन जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाउँदै भने । उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए । त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए ।

‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनु भएको थियो । जसमा रूपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ उनले भने । दुबै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताएका छन् । सेनाले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्ममिति रहेको बताएको हो ।

‘एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०२३–१०–१९ नै छ । जुन २०४० साल भदौ २९ गते जारी भएको थियो । अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र छ,’ उनले थपे, ‘त्यसमा पनि २०२३–१०–१९ नै छ । यसको अवाला नेपाली सेनामा भर्ना हुँदा पनि उहाँले यही नागरिकता र यही प्रमाणपत्र पेश गरेर भर्ना भएको पनि जानकारी गराउन चाहन्छु ।’ २०८० मंसिरमा सिग्देलको नागरिकतासम्बन्धी विवाद आएपछि रूजु गरेरै पदोन्नति गरेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्