काठमाडौं, १६ बैशाख ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आकस्मिक रुपमा काठमाडौं आएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री हेरफेरबारे छलफल सुरु भएपछि नेताहरुलाई भेट्न उनी मंगलबार काठमाडौं आएका हुन् ।
सोमबार प्रधानमन्त्री केपी ओली तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच मन्त्रिपरिषद् पुनर्गठन तथा मुख्यमन्त्री हेरफेर लगायतका विषयमा छलफल भएको थियो । नेता नेपाललाई प्रचण्डले प्रधानमन्त्रीमा अघि सारेको हल्लाकाबीच ओली पक्षले यस्तो प्रस्ताव राखेको हो ।
बाग्मती प्रदेशको मुख्यमन्त्री चयनमा ओली र नेपालपक्षबीच चर्काे विवाद भएको थियो । नेपाल पक्षले अष्टलक्ष्मी शाक्यलाई बनाउन खोजेको थियो । तर, ओली पक्षले जुनियर नेता पौडेललाई मुख्यमन्त्री बनाएको थियो । अहिले ओली पक्षले नेपाल पक्षलाई मुख्यमन्त्री दिन तयार भएको स्रोत बताउँछ। त्यहीकारण मुख्यमन्त्री पौडेल काठमाडौं आएका हुन् ।
यद्यपी ओली र नेपालपक्षबीच सहमति भइसकेको छैन । तर, नेकपाभित्र बढेको विवादले ओली पक्षलाई कमजोर बनाउने भने निश्चित छ ।