Logo
Logo

त्रिशूलीमा हेलियो नेताको नैतिकता


378
Shares

असार २८ गते, शुक्रबार । देशमा दुई ठूला घटना भए । एक- सत्ता पल्टियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्यो । अर्को- चितवनको सिमलतालमा बस पल्टियो ।

त्यही दिन जनताको आवज उठाउने मुख्य थलो संसद्मा दलहरूले तमासा देखाए । बैठक ६ घण्टा तीन मिनेट बस्यो । तर, जनताको समस्याले समय पाएन । बैठकको अधिकांश समय एकअर्कामाथि गाली गरेर बिताए । अरूलाई होचो देखाएर आफू सगरमाथाको चुचुरोमा पुगेको महसुस गरे । संसद्मा नेताहरूको नैतिकता र त्रिशूलीमा जनता एकैचोटी हेलिए ।

आइतबार देशले ४५औं प्रधानमन्त्री पायो । तर, त्रिशूलीमा बेपत्ता भएकाको शव पाइएन । जनताका सन्तान ४५ पटक देशको कार्यकारी प्रमुख बने । तर, जनताको प्रधानमन्त्री कहिल्यै बनेनन् ।

असार २८ को दुई घटनाले दुई कुराको पुष्टि गर्छ । एक– नेतालाई सत्ताको चासो छ । अर्को– जनताको समस्यामा वास्तै छैन । सधैँ मिलीजुली सरकार । पालैपालो देश चुसिरहने । देशमा दुर्दशा थपिरहने । जनस्तरमा निराशा बढ्यो । तर, नेताहरू देश कायापलट गर्ने फतुर गफ लगाउन छाडेनन् ।

राजनीतिलाई सेवा भन्ने गरिन्छ । तर, नेपालमा राजनीति व्यापार बनेको छ । दलहरू सत्तामा लिप्त छन् । उनीहरूको प्रवृत्ति हेर्दा लाग्छ– दल भने जनता लुट्न बनेको एउटा वैधानिक संगठनमात्रै हो । पालैपालो मिलीजुली लुटिरहन्छन् । एउटा पालो भरखरै सकियो । अब अर्कोको पालो !

भन्छन्– ‘सत्य कुरा तितो नै हुन्छ ।’ तितोले फाइदा गर्छ र गुलियोले हानी गर्छ भन्ने प्रायः सबैलाई थाहा छ । तर, धेरैले गुलियो नै मनपर्छ । खानेकुरा होस् या बोली । नेताको गुलियो कुरामा सधैँ जनता फसे । कति ठगिए भन्ने हिसाबकिताब छैन । यहाँ ‘चिप्लो जिब्रो, मन कालो’ भएका धेरै छन् ।

दलको प्रवृत्तिले जनता वाक्कदिक्का छन् । दल÷नेताप्रति चरम वितृष्णा छ । राणा शासनदेखि संघीय गणतन्त्रसम्म स्थापना गर्न लामो संघर्ष गरेका नेताका महत्वपूर्ण योगदानलाई कदापि भुल्न हुँदैन । तर, त्यो योगदानको ब्याजको स्याज कहिलेसम्म खाइरहने ?

नेताले आफ्ना आदर्श, सिद्धान्त र संघर्षका गाथा बिर्सिसके । व्यक्तिगत स्वार्थमा केन्द्रित भए । सिद्धान्त, नैतिकता र विचार घाटमा सेलाइसके । भ्रष्टाचार, स्वेच्छाचारिता, व्यक्तिवादी सोच मात्रै हाबी भएको छ । सत्तामा हुँदा हल न चल । प्रतिपक्षमा बस्दा उथलपुथल ।

नेता र दलहरूले देशका लागि कहिल्यै सोचेनन् । सत्ताको लागि मात्रै सोचे । पार्टी र कार्यकर्ताको मन्त्री÷प्रधानमन्त्री बने । जनताका कहिल्यै बनेनन् । जुनसुकै शासन व्यवस्था आएपनि दलहरूले जनतालाई रैती सम्झिए, आफूलाई बिर्तावाल !

बिरालोले दिसा लुकाएजस्तो आफूले बिगारेका छरपस्ट यथार्थहरू लुकाए । देश सप्रेको भ्रामक आँकडा गर्वका साथ प्रस्तुत गरिरहे । जनतालाई बग्रेल्ती सपना देखाए । कामको सिन्को सारेनन् । जनतालाई मूर्ख बनाउन कुनै कसर बाँकी राखेनन् ।

देशको काँचुली फेर्छौँ भन्नेहरूले आफूले मात्रै काँचुली फेरे । नेताहरू काण्डै काण्डमा मुछिएका छन् । देश र जनताको लागि भनेर गरेको राजनीति आफन्त र आसेपासेको लागि मात्रै भयो । श्रीमती, छोराछोरी, बुहारी, भान्जाभान्जी, सालाशाली, गर्लफ्रेन्ड, बिचौलिया, तस्कर, व्यापारी, भ्रष्टाचारी, माफियालाई पद बाँडेको रमिताले जनता अघाइसके ।

गणतन्त्र आएपछि जनतालाई लागेको थियो– सामाजिक र आर्थिक अवस्थामा बदलाव आउँछ । तर, यो आशा विश्वासमा परिणत हुन सकेन । आशामा खिया लाग्यो । दलहरूप्रति निराशा छछल्कियो । र, पोखिन थाल्यो ।

जनताले सिद्धान्त र वाद खोजेको होइन । जनताले त ‘शिक्षावाद, स्वास्थ्यवाद, रोजगारवाद, विकासवाद’ खोजेका छन् । जनताले महँगी कम गर्ने वाद खोजेका छन् । जनता ‘सुरक्षावाद’को खोजीमा छन् । जनताले एक–अर्कामाथि आक्रमण गर्ने, कालोमोसो दल्ने कार्यकर्ता पनि खोजेका होइनन् । जनताले ‘मेलमिलापवाद’ खोजेको हो ।

व्यवस्था फेरियो, अवस्था फेरिएन । तर, प्रवृत्ति उही पुरानै छ  । सोच्नुस् त, तपाईँले छानेको जनप्रतिनिधिले कति वाचा पूरा गरे ? हाम्रा नेताले जनताको विषयमा कहिल्यै चिन्ता देखाएनन् । योभन्दा दुःखको विषय अरू के हुन सक्छ र ? योभन्दा ठूलो विडम्बना के सक्छ र ? यसको मूल्याङ्कन हामीले कहिले गर्ने ?

आमजनताको आशा र अपेक्षामाथि कुठाराघात भयो । राजा हटे । महाराजा जन्मिए । उनीहरूको शान, मान र ऐश्वर्य भुइँमान्छेको लागि रमिता बन्यो । राजा महाराजाहरू नै पनि फ्लप खालान् !

यहाँ के छैन ? सबथोक छ । सबथोकमा राजनीति छ । स्वास्थ्यमा राजनीति, शिक्षामा राजनीति । न्यायमा राजनीति । भान्सामा राजनीति । राजनीतिमा पनि राजनीति छ । यी क्षेत्रमा राजनीतिक स्वार्थ र छलछामले जरा गाडेको छ । निष्पक्षता, योग्यता, सक्षमता, जनमुखी सेवा, जबाफदेहिता र समानतामा कालो बादल मडारिइरहेको छ ।

देशमा धेरैथरि समस्या छन् । देशको समस्या समाधान गर्ने नेता स्वयं अहिले देशको मुख्य समस्या भएका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ बनेका छन् । अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ, न त राजनीति दल ।

नेपाली युवा खाडीको गर्मीमा पसिना बेचिरहेका छन् । फर्केर आउँदा जिउँदै भइने हो कि कफिनमा आउनुपर्ने हो कुनै ठेगान हुँदैन । दिनभर काम गरेर बेलुका छाक टार्ने श्रमिक, विद्यार्थी, निम्न आय श्रोत भएका नागरिकलाई जीविकोपार्जन गर्न समेत कठिन छ ।

अहिलेका शासक नातावाद, कृपावाद र फरियावाद विमुख बनेका छन् । लोकतन्त्रको नाम जप्दै लुटतन्त्र मच्चाइरहे छन् । लालसभित्र लोकतन्त्रको नाम जपिरहेका छन् । स्वार्थ र सत्ताको लागि कहिले जुट्छन्, कहिले फुट्छन् । स्वार्थ मिलुन्जेल सँगै हिँड्छन् । स्वार्थ बाझिएपछि सत्तोसराप गर्छन् । जनताको मुद्दा सधैँ धुलोमै मिसिन्छ ।

देशमा धेरैथरि समस्या छन् । देशको समस्या समाधान गर्ने नेता स्वयं अहिले देशको मुख्य समस्या भएका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ बनेका छन् । अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ, न त राजनीति दल । राजनीतिक अस्थिरता नै अहिले नेपाली जनताको नियति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्