Logo
Logo

माधवलाई सिद्ध्याउन प्रचण्डको प्रयोग


33.5k
Shares

नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक प्रपञ्च गरेर भए पनि सत्तासीन हुनु नै सबै दलको प्रमुख उद्देश्य हो । यसका निम्ति पार्टीको नीति, सिद्धान्त त्याग्न सबै दलका नेताहरू तयार छन् ।

भन्नलाई राजनीतिको अन्तिम परिणाम नै सत्ता हो भनिएला तर, आफैँले कोरेको बाटोबाटै फनक्क फर्केर सत्ताको निम्ति जे पनि गर्ने संस्कृतिले नै नेपाली राजनीति विकृत भएको हो । यसो भन्दा राम्रो होला, नेपाली संसद् धोकेबाजहरूको अड्डा भएको छ । आफू शक्तिमा आउनको लागि सबैले सबैलाई धोका दिन हर घडी तयार भएको देखिन्छ ।

तेस्रो दलका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो डाली र त्यो डाली नगरेको भए आजको हविगतमा आइपुग्ने थिएनन् । जतिसुकै भ्रष्टाचारका फाइल खोलेका कुरा गरे पनि असार २८ मा प्रचण्डको बहिर्गमनको मुख्य कारण उनी स्वयं हुन् ।

कांग्रेसलाई धोका दिएर ओलीको समर्थनमा प्रधानमन्त्री बन्दा क्रान्तिकारी प्रचण्डको बोली र आज ओलीबाट धोका खाएर पदमुक्त हुँदा उनले गरेको भाषणबाटै प्रचण्डको हविगत बुझ्न सकिन्छ । गत निर्वाचनमा कांग्रेससँग सहयात्रा गरेर निर्वाचनमा होमिएका प्रचण्डले ओलीको चतु¥याइँ बुझ्न नसक्नु उनको कमजोरी हो । तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो चतुर नेताको षड्यन्त्र बुझ्न नसक्नु र क्षणिक फाइदाका निम्ति अस्थिर कदम उठाइहाल्ने प्रचण्डकै चरित्रको परिणाम हो आज ।

के त्यसो भए मुलुकका प्रमुख दल कांग्रेस–एमालेको एकताले अब देश रामराज्यमा परिणत हुने हो त ? के ओली र शेरबहादुर देउवा मुलुकका निम्ति नयाँ पात्र हुन् ? उनीहरूबाट आशा गर्ने कहीँकतै ठाउँ छ त ? संविधान संशोधन, अर्थतन्त्रको विकास आदि÷इत्यादि फगत सत्तारोहणको भर्याङ मात्र हो । यो गठजोड लोकतन्त्रको आवरणमा आफ्नो दलभित्र आफू बलियो भइरहने देउवा र ओलीको रणनीतिक परिस्थितिको उपज मात्र हो ।

ओलीको विकल्प एमाले भित्र खोज्ने कसरत भएको लामै भइसक्यो । गोकुल बाँस्कोटाले काभ्रेमा विद्या भण्डारीलाई लगेर सबैले बुझ्ने भाषामा यसको सन्देश दिइसकेका थिए । कांग्रेसमा अब हुने महाअधिवेशनमा देउवाले सजिलै आफ्नो पकड छोड्नेवाला छैनन् । आरजुलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्नु, पार्टीको आन्तरिक संघर्षमा साथ दिएका निकटस्थमध्य बलियो उत्तराधिकारी छान्नको निम्ति पनि उनलाई सत्ताको खाँचो परेको हो । दुवै नेताको स्वार्थको कारण भएको नयाँ समीकरणबाट केही नयाँ कुरा हुन्छ भनी सोच्नु मूर्खता नै हुनेछ ।

बरु, सत्तापक्ष र प्रतिपक्षको यो जोडले लूटतन्त्रलाई संस्थागत गर्ने पक्का पक्की छ । भ्रष्टाचारका फाइलहरू तैं चुप मैं चुप हुनेछन् । ओली र देउवाको ध्यान पार्टीभित्र पकड राखिरहनु, मिसन ८४ मा बहुमतको निम्ति प्रयासको रस्साकस्सी हुने नै छ । त्यो खिचातानीको राजनीतिमा ओलीले फेरि देउवालाई धोका दिए भने कुनै आश्चर्य हुनेछैन ।

वास्तवमा, घटनाक्रमलाई विश्लेषण गरेर हेर्ने हो भने ०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रतिगमनविरुद्ध गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचको सहमति इमानदारीपूर्वक पालना गरेको भए प्रचण्डलाई ‘धोका’ हुने थिएन ।

निर्वाचनमै सत्ता गठबन्धन गरेर जाने सहमति भएको थियो । त्यसअनुसार हिँडेको भए प्रचण्ड सवार जहाज डुब्ने थिएन । तर, प्रधानमन्त्री बन्ने हतारोले प्रचण्ड ओलीको शरण पर्नु नै धोकाको आरम्भ बन्यो । तै पनि कांग्रेसले सहेर बस्यो ।

ओलीलाई धोका दिएर पुरानो गठबन्धनमा फर्केपछि प्रचण्डले ‘कोर्स करेक्सन’ ग¥यो भनेर कांग्रेसले फेरि प्रचण्डलाई विश्वास ग¥यो । त्यो विश्वासलाई मात्र प्रचण्डले टिकाएको भए ‘किन रोइस् मंगले आफ्नै ढंगले’ भन्ने अवस्थामा प्रचण्ड पुग्ने थिएनन् । यहाँनेर पनि फेरि कांग्रेसलाई धोका दिएर प्रचण्ड ओलीको जालमा फस्नु उनको कमजोरी मात्र होइन, मूर्खता पनि हो ।

पुरानो गठबन्धनले निरन्तरता पाएको भए अबको पाँच महिनापछि डेढ वर्षका लागि माधव नेपाल प्रधानमन्त्री बन्ने थिए । त्यसैलाई रोक्न ओलीले प्रचण्डलाई धोका मात्र दिएनन्, माधवको पालो आउनै लाग्दा ओली आफैँ प्रधानमन्त्री बने । यो कुरा प्रचण्डले नबुझेका होइनन्, पाँचै वर्ष आफैँ प्रधानमन्त्री बन्ने लोभमा प्रचण्डले धोका खाएका हुन् ।

०७९ को निर्वाचन परिणामबाट प्रतिपक्षमा पुगेको एमालेले सुरुदेखि नै वाम लोकतान्त्रिक गठबन्धन भत्काउने षड्यन्त्रमा थियो । किनभने, एमालेबाट विद्रोह गरेको माधवकुमार नेपाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने ओलीको एकमात्र उद्देश्य थियो । पुरानो गठबन्धनले निरन्तरता पाएको भए अबको पाँच महिनापछि डेढ वर्षका लागि माधव नेपाल प्रधानमन्त्री बन्ने थिए ।

त्यसैलाई रोक्न ओलीले प्रचण्डलाई धोका मात्र दिएनन्, माधव नेपालको पालो आउनै लाग्दा ओली आफैँ प्रधानमन्त्री बने । यो कुरा प्रचण्डले नबुझेका होइनन्, बरु आफैँ पाँचै वर्ष प्रधानमन्त्री बन्ने लोभमा पर्दा प्रचण्डले धोका खाएका हुन् । प्रचण्डका कारण देउवा, ओलीले पटक–पटक धोका खाए भने धोकाको राजनीतिबाट नेपाल पनि अछुतो रहन सकेनन् ।

ओली–प्रचण्ड गठबन्धन भएदेखि नै माधव नेपालको मनमा चस्को परेको थियो । आजको परिस्थिति निम्तने कुरा माधवले धेरै पहिला सोचेका थिए । ओलीले जुनसुकै बेला धोका दिन सक्ने कुरा प्रचण्डलाई बारम्बार माधव नेपालले सचेत पारेका थिए । तर, ओलीको मायाजालमा परेका प्रचण्ड धोका खान तयार भए, माधवको कुरा पत्याउन तयार भएनन् । वाम गठबन्धनमा माधव नेपालले प्रचण्डलाई जोगाउन देउवाको प्रस्तावसमेत अस्वीकार गरे । देउवा पत्नीसहित कोटेश्वर पुगेर माधव नेपाललाई प्रधानमन्त्री बन्न आग्रह गरेकै हुन् ।

‘पर्ख र हेर’को नीतिमा रहेका माधव नेपालले एक साता धैर्यता गरेको भए, आजका दिन माधव नेपाल प्रधानमन्त्री बन्थे । माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिनकै लागि केपी ओली कोटेश्वर पुगेर पार्टी एकता गर्नेदेखि आगामी निर्वाचनमा वाम गठबन्धन गर्नेसम्मका आश्वासन दिए । यो सबै जालझेल अन्ततः प्रचण्ड-माधवलाई सिद्ध्याएर आफू प्रधानमन्त्री बन्ने खेल हो भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ।

तानसेन, पाल्पा

प्रतिक्रिया दिनुहोस्