काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
केही सातायता विद्यार्थी र युवाहरु आरक्षणको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा आरक्षणको दिएको भन्दै विरोध गरेका छन् ।
आन्दोलनलाई थप हिंसात्मक हुन नदिन सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर, कर्फ्यबीच पनि ठाउँठाउँमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडपहरु भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको बताइएको छ ।