काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सत्यको सापेक्षताको बारेमा प्रश्न गरेका छन् ।
डा. भट्टराईबारे लिखित पुस्तक विमोचन कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले सत्य सापेक्षिक हुने भन्दै भने, ‘पुस्तकमा उल्लेख भए अनुसार २०३५ सालमा डा. बाबुराम भट्टराईले नोटमा लेख्नुभयो, मेरो जीवन सत्य र न्यायका लागि समर्पण गर्न चाहन्छु । म डा. साबलाई सोध्न चाहन्छु, यो सत्यको एक्सपाइरी डेट हुन्छ कि हुँदैन ? किनभने सत्य सापेक्षिक हुन्छ ।’
महामन्त्री शर्माले जीवनको एक कालखण्डमा आफूलाई सत्य लागेको कुरा अरू कसैलाई सत्य नलाग्न पनि सक्ने बताए । अरू कसैले सत्य मानेर समाएको कुरा आफूलाई सत्य नलाग्न पनि सक्ने उनले बताए ।
डा. भट्टराईले दुई कालखण्डमा सत्यको दुई भिन्न आयामलाई अभ्यास गरेको भन्दै महामन्त्री शर्माले भने, “उहाँले नलजाईकन स्वीकार गर्नुपर्छ । डा. सबलाई कुनै काल खण्डमा लाग्थ्यो यो धरतीलाई सुन्दर बनाउने कुनै दर्शन छ भने त्यो कम्युनिस्ट दर्शन हो । जीवनको अर्को उचाइमा पुगेपछि त्योभन्दा भिन्न बाटोमा त्यसको सान्दर्भिकता घट्यो भन्नुभयो । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि आफूलाई त्यो बाटोमा लानुभएको हो । उहाँहरूले जर्मन दार्शनिक गेटेलाई चाँडो पढ्नुभएछ कि क्या हो । गेटेले के भन्नुहुन्छ भने जीवनको रङ हरियो हुन्छ, सिद्धान्तको रङ खैरो हुन्छ ।”
संविधान लेखनमा डा.भट्टराईले महत्त्वपूर्णभन्दा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै महामन्त्री शर्माले संविधान जारी गरेपछि भट्टराईले आफ्नो बाटो बदलेको जिकिर गरे ।