काठमाडौं । सरकारले बंगलादेशमा अध्ययनरत १७ विद्यार्थीलाई आज नेपाल ल्याउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बंगलादेशमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई आज काठमाडौं ल्याइने जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवारस्थित इनाम मेडिकल कलेजमा पढ्ने ती विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताए । सवार एरियाको इनाम मेडिकल कलेजमा मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् ।
बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । जसमा शनिबार रातिसम्म करिब ८ सय विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।