काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले ‘खिचडी’ संविधानका कारण मुलुक र नेपाली जनताले दुख भोग्नुपरेको बताएका छन् । कांग्रेस र एमालेको सत्ता–सहकार्य देश र जनताको लागि झनै घातक रहेको उनले बताए ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा साहले यस्तो बताएका हुन् । पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले कांग्रेस र एमालेकै कारण नेपाली जनताले दुख भोग्नुपरेको बताउँदै त्यसको जिम्मा लिनुपर्ने सुझाव दिए ।
‘कांग्रेस र एमालेको सहकार्य हाम्रो देशमा बढ्दो संकटको अभिव्यक्ति हो । यो सहकार्यले देशलाई अझै संकटमा लैजान्छ भन्ने मेरो बुझाई हो । हामी झलझली २०६१ सालको इतिहासलाई सम्झौँ, शेरबहादुर देउवाजीको सरकारमा एमाले गयो, जनताले कसरी दुःख पाए भन्ने कुरा हामीले बुझेकै छौँ । संविधानसभा भयो, कांग्रेस र एमाले मिले । नेपालमा गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहलाई राष्ट्रपति हुनबाट रोक्नुभयो’ साहले भने, ‘संविधानसभालाई कसरी विफल पार्नुभयो रु र, खिलराज रेग्मीसम्म पुर्याउनुभयो । त्यो हामीले बिर्सिएका छैनौँ । दोस्रो संविधानसभा भयो, तपाईँहरू मिल्नुभयो । कस्तो संविधान बनाउनुभयो भन्ने कुरा तपाईँहरू आफैँ अभिव्यक्त गरिरहनुभएको छ । देशलाई दुःख दिने, जनतालाई निराश बनाउने सबै कर्म, कुकर्म तपाईँहरू मिलेरै गर्नुभएको छ । आज संविधान संशोधनको नाटक उचित छैन । पहिला त्यसको जिम्मा लिनुपर्छ ।’
कांग्रेस र एमालेले अहिलेसम्म गरेको अपराधको जिम्मा लिनुपर्ने उनले बताए । उनले देशमा राजनीतिक अस्थिरताको खेल कांग्रेस र एमालेको स्वार्थमा भइरहेको दाबी गरे । कांग्रेसका जिम्मेवार नेताहरूले नै सदनमा केपी ओली नेतृत्वको सरकारको पालामा गिरिबन्धुको नीतिगत भ्रष्टाचार भएको भनेर बोलेको स्मरण गराउँदै आज ओलीलाई नै प्रधानमन्त्री बनाएकोमा साहले प्रश्न उठाए । ओलीले पनि आफ्नो संसदीय दलको बैठकमा ७० बिघा कांग्रेसले बेचेर खाएको भनेर आरोप लगाएको उनले स्मरण गराए ।
‘संसदीय दलको बैठकमा ओलीजीले ७० बिघा नेपाली कांग्रेसले बेचेर खायो भन्नु भएको छ । फेरि नेपाली कांग्रेसलाई सत्तामा ल्याइरहनुभएको छ, जनताले कसरी विश्वास गर्छन् रु अघि यहाँ तपाईँले भ्रष्टाचार गर्दैनौँ र सहन्नौँ भन्नुभयो, नेपाली कांग्रेसलाई जग्गा खायो भन्नेलाई कसरी च्याप्नुभएको छ रु गिरिबन्धुको केसमा सम्माननीय प्रधानमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ, यो विषयमा नाम जोडेर १० चोटि आइसक्यो । सर्वोच्च अदालतले भनेको छ कि यो नीतिगत भ्रष्टाचार हो । जहाँ जहाँ भ्रष्टाचारको विषय उठेको छ, त्यो विषय स्पष्ट गरिदिनुपर्छ’ साहले भने ।
नेपालमा सरकार फेरबदल भएसँगै विदेश नीतिको विषयमा कुरा उठेको उनले सुनाए । ‘नेपालमा सरकारपिच्छे विदेश नीतिका कुरा आउँछन् । कहिले उत्तर त कहिले दक्षिण ढल्किएको कुरा आउँछ । अहिले जुन ढंगको हस्तक्षेप बढिरहेको छ, यसमा मलाई चिन्ता छ । हाम्रो विदेश नीति कस्तो हुन्छ ? यो सरकारले विदेश नीतिलाई सन्तुलित गर्छ कि गर्दैनन् ? अहिलेको सम्माननीय प्रधानमन्त्री जुन जुन बेला प्रधानमन्त्री बन्नुभएको छ त्यो बेलामा भारतसँगको सम्बन्ध उतारचढाव रहेको कुरामा हामी सबै जानकार छौँ । अब भारतसँग सम्बन्ध कस्तो रहन्छ ? यो सबैको चासोको विषय छ’ साहले भने, ‘हामीले यही संसदमा सर्वसम्मत ढङ्गबाट पारित गरेको चुच्चे नक्सा कार्यान्वयन हुन्छ कि हुँदैन ? सम्माननीय प्रधानमन्त्रीज्यूले एमालेको सरकार आएपछि मात्रै कार्यान्वयन हुन्छ भन्नुभएको छ, अब एमालेको सरकार आएको छ, त्यो चुच्चे नक्सा कार्यान्वयन हुनुपर्छ । हाम्रो नेपाली भूभाग नेपालले पाउनुपर्छ । कसरी पाउँछन् ? कहिले पाउँछ ? त्यसको विधि र डेट पनि बताइदिनुहोस, नेपाली जनता त्यसमा आश्वस्त हुन चाहन्छन् ।’
उनले नेपाल र भारत सरकारको पहलमा बनेको इपिजीले तयार पारेको प्रतिवेदन कहिले भारतले बुझ्छ ? कहिले कार्यान्वयनमा जान्छ ? भन्ने विषयमा जनताले जान्न चाहेको पनि बताए ।