काठमाडौं । सधैँ सत्तामा रहिरहने माओवादी केन्द्र यसपटक भने संघदेखि सातै प्रदेशमा प्रतिपक्षी बेन्चमा पुगेको छ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सत्ता समीकरण भएपछि माओवादी सातै प्रदेशमा सत्ताविहीन बनेको हो । आज माओवादीबाट मुख्यमन्त्री बनेका बागमती र लुम्बिनीका मुख्यमन्त्रीद्वय शालिराम जम्कट्टेल र जोखबहादुर महराले राजीनामा दिएसँगै माओवादी सातै प्रदेशबाट बढारिएको हो ।
विश्वासको मत नपाउने निश्चित भएपछि दुवै मुख्यमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । दुवै प्रदेशका नयाँ सरकार गठनको आह्वान भइसकेको छ भने कांग्रेस–एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्
गत १७ असारमा मध्यरात कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बनाउने सहमति गरेका थिए । सोही सहमतिअनुसार प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत समेत लिइसकेका छन् ।
यता, माओवादी केन्द्रले सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरिसकेको छ । प्रतिपक्षी दलहरूलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले जनाएको छ ।
तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन गरेका प्रचण्डले प्रधानमन्त्री हुन १० पुस २०७९ मा एमालेसँग सहकार्य गर्ने निर्णय लिए । चुनावपछि देउवाले प्रधानमन्त्री छोड्न नमानेपछि ओलीसँग मिले ।
प्रचण्ड प्रधानमन्त्री बनिरहँदा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म एमालेसँग आलोपालो गर्ने सहमति भयो । तर आफू प्रधानमन्त्री भएपछि सहमति बमोजिम एमाले उम्मेदवारलाई राष्ट्रपति पदमा सहयोग नगरेर कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताए । गठबन्धनमा धोका भएको भनेर २२ माघमा रास्वपा, १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले सरकार छोड्यो ।
कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्किएका प्रचण्डले देउवा र माधव नेपाल समेत तीन जनाबीच आलोपालो प्रधानमन्त्रीको सहमति गरे । यसरी ४२ दिनभित्रै दुई वटा समीकरण बन्दा संघदेखि प्रदेशसम्मका सरकारहरु चरम अस्थिर बन्यो ।
प्रचण्डको अस्थिरताले वाक्क दिक्का भएका कांग्रेस–एमाले मिलेपछि माओवादी केन्द्र ९ वर्षपछि प्रमुख प्रतिपक्षी भूमिकामा बाध्य भएको छ ।