काठमाडौं । प्रहरीले जग्गाको विवाद मिलाइदिन आग्रह गर्दै घरैमा पुगेका समूहले नै पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या गरेको हुनसक्ने आशंका गरेको छ ।
गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित निवासमै ८० वर्षीय रायको हत्या गरिएको थियो । घटनाको अनुसन्धान अघि बढाएको सर्लाही प्रहरीले रायकै घरमा बसी काम गर्ने एक युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
उनले प्रहरीलाई दिएको प्रारम्भिक सोधपुछका क्रममा आइतबार साँझ नै तीनजना युवा रायको घरमा आएका थिए । उनीहरु जमिनको विवाद मिलाइदिन आग्रह गर्दै रायको घरमा पुगेको राम उदेनले प्रहरीसमक्ष बताएका छन् । तीन जनाले रामचन्द्र रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले प्रहरीसमक्ष भनेका छन् ।
राति पिसाब फेर्न उठेका बेला पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ ।
यद्यपि, उनले बताएको कुराको थप पुष्टि प्रहरीले गरिरहेको छ भने सोधपुछको काम भइरहेको मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार रायको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । उनको टाउकोको बायाँ भागमा चोट लागेको छ ।
,