Logo
Logo

जलहरीको फैसलाले विशेषका अध्यक्ष कुँवर सन्देहको घेरामा


1.4k
Shares

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको बिषय विवादको चरम भूमरीमा फसेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धान गरेर प्रमाणसहित विशेष अदालतमा दायर गरेको मुद्दाका अभियुक्तहरुले सफाइ पाउँदा न्यायालयप्रति नै विश्वास घटेको छ । यस घटनाले न्यायाधीशहरुको छविमा समेत कालो दाग लागेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

कोष स्वयम्को मुचुल्काबाट तोकिएको परिमाणमा जलहरी नबनाएको तथ्य बाहिर आएका बेला विशेष अदालतबाट पाएको सफाइ सन्देहको घेरामा परेको छ । जलहरी काण्डमा अख्तियार, महालेखा र कोषबाटै प्राप्त गम्भीर प्रमाणलाई दबाएर गम्भीर अपराधमा उन्मुक्ति दिने र तलैबाट मुद्दाको जरो उखेल्ने खेल भएको प्रश्न समेत उठिरहेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले गत बैशाख १८ गते कोषका सदस्य सचिव डा.थापा, कोषको तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको थियो ।

अभियोगबाट सफाई दिएको तीन महिना पुग्नलाग्दा समेत अहिलेसम्म जलहरी काण्डको चर्चा सेलाएको छैन । सफाइ सन्देहास्पद देखिएपछि न्यायपालिका भित्रै जिब्रो काढ्ने अवस्था देखिएको छ । न्यायपालिकाभित्रै एकाथरीले कुँबरले बदनियतपूर्वक मुद्दा छिनेको आरोप लगाएका छन् ।

अख्तियार दुरुपयेग अनुसन्धान आयोगको विशेषज्ञसहितको छानविन टोलीले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन गायब पारिएको तथ्यसहितको फेहरिस्त सार्वजनिक गरेको थियो । गायब भएको सुनको मूल्य तत्कालिन दररेट अनुसार एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ थियो । अख्तियारले पनि सोही अनुरुप भ्रष्टाचार दाबी गरेको थियो ।

तत्कालिन अवस्थामा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको निर्देशन अनुरुप पशुपतिको शिवलिंग (ज्योर्तिलिंङ) को गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन कुल ८० करोड ११ हजारमा खरिद गरिएको थियो ।

उक्त सुनमा २ केजी ८ सय ९० ग्राम, चादी १ केजी २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४.७५ ग्राम सुन कायम गरिने उल्लेख गरियो ।

तर, अख्तियारको छानबिनमा तोकिएको सर्त र निर्णयबमोजिम सुनको जलहरी नबनाएको र निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरिएको तथ्य छानविनबाट फेला परेको थियो ।

यसरी जलहरी राख्ने क्रममा १४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम सुन गायब पारिएको छानविन ठहर छ । तत्कालीन मूल्यअनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको बाँकी १० केजी ९ सय ७६ ग्राम सुन सुन रिङ बनाई चढाइएको जिकिर गरे पनि खोजबिन गर्दा कोषले भनेबमोजिम सुनको रिङ राखिएको थिएन ।

जलहरी बनाएर बाँकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायव पारिएको प्रसङ्ग समेत त्यतिबेला पशुपति विकास कोषभित्रै उठेको थियो । यी सबै तथ्य, आधार, प्रमाण र सबुदलाई फैसलाका क्रममा दबाइएको छ ।

कोषका तत्कालीन सदस्य–सचिव ढकाल र तत्कालीन कोषाध्यक्ष (हालका सदस्य सचिव) थापाले सुनको ज्ञान नभएका कालीगढमार्फत काम गराएको आरोप समेत लागेको छ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार १ एक किलो ४ सय ९१ ग्राम, सात सय अठार मिलिग्राम सुन ढकाल र थापाले हिनामिना किटानी अख्तियारले गरेको छ ।

जलहरी प्रकरणमा ढकाल र थापाले २०७७ फागुन ११ गते राती ८ बजे गरेको मुचुल्का नै शंकास्पद रहेको भनेर त्यतिबेलै आवाज समेत उठेको हो । त्यतिबेला कोषभित्रैबाट अख्तियारमा परेको गोप्य उजुरीका आधारमा छानविन अघि बढोको थियो ।

अख्तियारको अनुसन्धानबाट जलहरी बनाउँदा लगाइने अन्य धातुको मात्रा समेत तोकिएभन्दा बढी लगाइएको तथ्य बाहिरिएको थियो । सुन अनियमितता गर्न ढकाल र थापाको प्रत्यक्ष भूमिका रहेको सफेद रुपले पुष्टि भएको अवस्थामा विशेषका अध्यक्ष कुँवरले बदनियतपूर्वक सफाई दिलाएको गंभिर आरोप लगेको छ ।

ठूलो परिमाणमा हानीनोक्सानी भएको स्थापित तथ्यलाई कुल्चिएर तीनजनालाई सफाई दिलाएको देखिन्छ । यति मात्र नभै जलहरी प्रकरणमा बिना मुचुल्का गैरजिम्मेवारी पूर्वक काम भएको तथ्य समेत बाहिरिएको थियो ।

सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुवै सिफ्टको कार्यटोलीमा खटिइएको जिम्मेवार व्यक्तिले मिति, आधिकारिक निर्णय, कोषका जिम्मेवार सदस्य तथा कार्यटोलीका सदस्यहरुलाई जानकारी नदिई नापतौल तथा मुचुल्काविनै मिलेमतोमा काम गरेको तथ्यलाई समेत फैसला हुँदा सर्लक्कै आँखा चिम्लिएको अवस्था छ ।

महालेखा परीक्षकको लेखा परीक्षणका क्रममा समेत जलहरी निर्माणमा अनियमितता भएको तथ्य सार्वजनिक भइसकेको छ । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको किटान छ ।

विशेष अदालतका अध्यक्ष कुँवर तत्कालीन कानुनमन्त्री पदम गिरीबाट सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित हुन् । कुँवर र गिरी पर्वतका स्थानि छिमेकी रहेको बताइन्छ । गिरी ओलीका सारथि रहेको मौकामा छलाङ मार्न एमाले बृत्तका कुँवरले घरदैलोसमेत चलाएको उनका निकटस्थहरु बताउँछन् । ‘गुनको बदला गुन पैंचो’ लिनको खातिर जलहरी काण्डमा पक्षधरताले काम गरेको शंका जन्मिएको छ ।

‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।

रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ प्रतिवेदनमा प्रष्ट भनिएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरे अनुरुप २०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेर सुनको जलहरी राखेकी थिइन् । ‘लहरो तान्दा पहरो थर्कने’ भन्दै शंका उठिरहेको बेला मुद्दालाई तलैबाट राफसाफ पार्न खेलो फड्को भएको देखिएको छ । तथ्यहरुबाट सफाईको फैसला नै मिलिभगतमा भएको गंभिर आशंका छ ।

स्मरण रहोस, विशेष अदालतका अध्यक्ष कुँवर तत्कालीन कानुनमन्त्री पदम गिरीबाट सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित हुन् । कुँवर र गिरी पर्वतका स्थानीय छिमेकी रहेको बताइन्छ । गिरी ओलीका सारथि रहेको मौकामा छलाङ मार्न एमाले बृत्तका कुँवरले घरदैलोसमेत चलाएको उनका निकटस्थहरु बताउँछन् ।

‘गुनको बदला गुन पैंचो’ लिनको खातिर जलहरी काण्डमा पक्षधरताले काम गरेको शंका जन्मिएको छ । जलहरी प्रकरणलाई फैदेबाट मटियामेट पार्न नेपथ्यमा भित्री खेल चलेको गंभिर आशंका उत्पन्न भएको छ । बाघ कराउने र बाख्रो हराउने साइत एकसाथ जुरेका कारण पनि फैसलामा कैफियतको आशंकालाई बल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्