काठमाडौं । कुनै बेला कांग्रेसलाई तर्साउने हतियारको रुपमा आएको समाजवादी मोर्चा अहिले कांग्रेस–एमाले दुवैलाई तर्साउनका लागि व्यँुताइएको छ । हरेक विषयवस्तूलाई आफूअनुकुल व्याख्या गर्न माहिर रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै योजनामा बनेको समाजवादी मोर्चा उनकै कारण निष्कृय भएको थियो । अहिले उनी सत्ताबाहिर भएपछि यसलाई व्यूताएर आगामी निर्वाचनसम्म कायम राख्ने र निर्वाचनमा मोर्चाबन्दी गर्ने उदेश्य राखिएको छ ।
एमाले–माओवादी केन्द्र गठबन्धनमा हुँदा निष्कृय बनाइएको समाजवादी मोर्चालाई पुनः ब्युँताएर सरकारविरुद्ध प्रयोग हुने देखिएको छ । एमालेबाहेक दुई बलशाली कम्युष्टि घटक माओवादी र नेकपा एकीकृत समाजवादी मोर्चामा सहभागी छन् । त्यसबाहेक माओवादीबाट विभाजित भएका नेत्रविक्रम चन्द र बाबुराम भट्टराईबाट फुटेर माओवादीसँग सहकार्य गरिरहेका महिन्द्र यादव पनि सहभागी छन् । प्रचण्डकै कारण उपेन्द्र यादव यो मोर्चाबाट बाहिरिएका छन् । प्रचण्डले एमालेसँग मिलेर जसपा विभाजित गरिदिएपछि उपेन्द्र यादव रुष्ट भएका हुन् ।
तत्कालीन अवस्थामा एमालेले मोर्चामा आउन अस्वीकार गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यसलाई निष्क्रिय बनाएका थिए । पाँच महिनादेखि प्रचण्डले मोर्चालाई आफू अनुकूलताको सरकार हुँदा निष्क्रिय बनाएका थिए । तत्कालीन समयमा कांग्रेससँगको सहकार्यलाई तोडेर एमालेसँग सहकार्य गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मोर्चाको बैठकमा सहभागी भएका थिएनन् ।
नेपाली कांग्रेससँगको गठबन्धनमा प्रचण्ड सरकारलाई टिकाउने प्रयोजनले समाजवादी मोर्चा गठन भएको थियो । मोर्चामा संसद्का तीन र बाहिरको एक दल गरी चार दलको सहभागी थियो ।
संसदीय अंक गणितमा त्यतिबेला जनता समाजवादी पार्टी (जसपा) नेपालका सहित ५४ सांसद मोर्चामा थिए । कांग्रेसको ८८ सिटलाई मोर्चासँग रहेको ५४ सिटले दबाबमा राखेको थियो ।
२०८० फागुन २१ मा कांग्रेसको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्य गरेपछि मोर्चाको एकपटक पनि बैठक बस्न नसक्दा मोर्चामा सहभागी अन्य दलहरुले प्रचण्डको त्यो व्यवहारलाई रुचाएका थिएनन ।
त्यसबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मोर्चाका तत्कालीन संयोजक नेत्रविक्रम चन्दले एमाले अध्यक्ष केपी ओलीलाई मोर्चामा सहभागी हुन आग्रह गरेका थिए । चन्दले बालकोटमै पुगेर आग्रह गर्दा पनि ओलीले एमाले मोर्चामा सहभागी नहुने बताएका थिए । ओलीको त्यो धारणापछि प्रचण्डले पनि सत्ता खुस्किने डरले मोर्चाको नाम पनि लिन चाहेका थिएनन ।
तर गत हप्ता मोर्चामा सहभागी भएका दलहरू मिलेर जानेबारे साझा धारणा बनाउने भन्दै प्रचण्ड आफै अग्रसर भए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव, नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटे । त्यसपछि ओली सरकारविरुद्ध संसद र सडकमा प्रतिकार गर्ने योजना बनाए । त्यसको पहिलो परिणाम आइतबार ओली सरकारलाई विश्वासको मत नदिनु थियो ।
कांग्रेस–एमाले गठबन्धको नयाँ सरकार गठन भइसकेपछि माओवादी केन्द्र र नेकपा एस विपक्षी दलको हैसियतमा छन् । कांगे्रस–एमाले सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने गरी सक्रियता दिन मोर्चा ब्युँताइएको बताइएको छ । पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमालेसहित करिब दुई तिहाईको गठबन्धन भइसकेको छ । सुरुमा कांग्रेसलाई दबाबमा राख्न, सरकारलाई बलियो बनाउन प्रचण्डले माओवादी केन्द्र, नेकपा एस, जसपा नेपाल र संसद्बाहिर रहेको नेकपा मिलेर मोर्चा बनाएका थिए ।
अहिले जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा बनेको जसपा सरकारमा सहभागी छ । दाहाल नेतृत्वको सरकारले पार्टी फुटाइदिएको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समूह रुष्ट छ । असार २८ गते दाहालले संसदमा मागेको विश्वासको मतसमेत यादव समूहले दिएको थिएन भने आइतबार (साउन ६) मा ओली सरकारलाई विश्वासको मत दिएको थियो ।
२०८० असार ४ मा घोषणा भएको मोर्चाले ‘संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य’ लिएको थियो। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने’ प्रमुख उद्देश्यमा उल्लेख छ । वाम झुकाव राख्ने दलहरू मिलेर मोर्चालाई अघि बढाइएको थियो । अहिले बामगठबन्धनको विषय पनि निस्कृय रहेको छ ।
जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोहलगायत विभिन्न समुदायले गरेका आन्दोलनबाट विकसित २०६२–६३ सालको जनक्रान्तिका उपलब्धिस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागत विकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवं सामाजिक न्यायसहितको अग्रगामी रूपान्तरण तथा नेपाली विशेषताको समाजवादको लक्ष्य प्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने संकल्प’ गरे पनि त्यतिबेला यो मोर्चा प्रमुख प्रतिपक्षमा रहेको दल एमालेप्रति आक्रामक भएको थियो । अहिले सत्ताबाहिर रहेका प्रचण्डले मुलतः एमाले विरुद्ध नै प्रहार गर्ने उदेश्य राखेका छन् ।