अमेरिकामा रहेका नेपाली पनि क्रमशः नेपाली–अमेरिकी हुँदैछन् । यहाँ नेपाली–अमेरिकी हुनुको अर्थ बहुआयामिक छ । यद्यपि, यसको मूल आयाम भनेको अमेरिकी नागरिकता लिएर त्यसबाट प्राप्त अधिकार र कर्तव्यको पालना गर्नु नै हो ।
अमेरिकी नागरिकको शपथ खाएर फर्कँदा नागरिकताको प्रमाणपत्रसँगै एउटा खाम पनि दिइन्छ । त्यसमा नयाँ अमेरिकी नागरिकका लागि सर्वथा महत्त्वपूर्ण ठानिएका चार सामग्री राखिएका हुन्छन् । पहिलो, ’स्टार्स एण्ड स्ट्राइप्स’ भनिने अमेरिकी झण्डा, दोस्रो अमेरिकी नागरिकका रूपमा राष्ट्रपति हस्ताक्षरित स्वागतपत्र, तेस्रो, मतदाता नामावली दर्ता फाराम र चौथो राहदानी आवेदन फाराम ।
त्यसमा राखिएका चारवटै सामग्रीको आआफ्नो अर्थ र महत्त्व हुन्छ । त्यसमा पनि मतदाता नामावली दर्ता फारामको विशेष अर्थ हुने मानिन्छ । त्यसको अर्थ हो, अमेरिकी नागरिक भएपछि मतदाताका रूपमा दर्ता भएर त्यसको संवैधानिक अभ्यास गर्नु ।
मतदाताको सबैभन्दा ठूलो अधिकार र कर्तव्य आवधिक निर्वाचनमा आफूलाई मन परेको दल र उम्मेदवारलाई मतदान गरेर लोकतान्त्रिक राज्य व्यवस्थाको हिस्सेदारी लिनु हो । अमेरिकामा हरेक वर्ष केही न केही पदका लागि निर्वाचन भइरहे पनि हरेक चार वर्षमा हुने राष्ट्रपतिको निर्वाचन सर्वाधिक महत्वको हुन्छ ।
सन् २०२४ अमेरिकाका लागि एउटा त्यस्तै वर्ष हो । यो वर्ष नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यही दिन कंग्रेसको सबै स्थान, १०० मध्ये ३३ सिनेटर, ११ गभर्नर, केही राज्यका विधायक, सिनेटरलगायतक थुप्रै सार्वजनिक पदको लागि पनि निर्वाचन हुन्छ । अमेरिकामा हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो सोमबारपछि आउने मंगलबार यो निर्वाचन हुने हो । यो वर्ष त्यो मंगलबार नोभेम्बर ५ मा परेको छ ।
सन् २०२० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा नेपालीको जनसंख्या दुई लाख १९ हजार पाँच सय तीन पुगेको छ । अमेरिकामा मातृभाषाको आधारमा जनगणना हुन्छ । त्यसैले यो नेपाली मातृभाषी भएका नेपालीहरूको संख्या हो । यसमा उल्लेख्य संख्यामा नेपालीभाषी भुटानीको संख्या पनि छ । केही संख्या भारतीय र बर्मेली नेपालीको पनि छ । तर, यो सबै नेपालीभाषी अमेरिकी नागरिकको संख्या हैन ।
नेपालबाटै गएका र अमेरिकी नागरिक भएका नेपालीको संख्या चाहिँ ५९ हजार सात सय ५१ छ । यो गत वर्षको संख्या हो । यसमा कम्तीमा पनि अरू ६ हजार थिए होला यो वर्ष । त्यो समय जोड्दा अमेरिकामा अमेरिकी नागरिकता लिएर नेपाली–अमेरिकी भैसकेका नेपालीको संख्या ६५ हजार नाघिसक्यो ।
यी ६५ हजार नेपाली नै यो वर्ष अमेरिकामा हुने निर्वाचनमा मतदान गर्न योग्य हुन् । तर, यी सबै नेपालीले मतदाताका रूपमा आफ्नो नाम दर्ता गरेका हुँदैनन् । त्यसैले यति नै संख्यामा अमेरिकामा नेपाली–अमेरिकी मतदाता छन् भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । तर, यति चाहिँ भन्न सकिन्छ कि त्यो संख्या हजारौँमा छ ।
नेपालमा रहँदा राजनीतिक रूपमा जे जसरी बाँडिए पनि अमेरिकी भएका नेपाली भने मूलतः दुई कित्तामा बाँडिएका छन् । या त उनीहरू डेमोक्रेट्स छन् या त रिपब्लिकन । यस बाहेक केही ग्रिन, लिबरल र लिबर्टियन पनि होलान् । केही इन्डिपेन्डेन्ट पनि होलान् । अमेरिकामै आएर पढेबढेको पुस्ता भने राजनीतिक परिधि बाहिरै छ । त्यसमा केही अपवाद होलान् ।
संख्यामा कति कुन दलको समर्थक होलान् ? यो प्रश्नको उत्तर अनुमानमै मात्र सीमित छ । तर, अमेरिकामा देखिएको गतिविधिलाई हेर्दा कम्तीमा पनि त्यो अनुपात ४ः१ होलाजस्तो देखिन्छ । अर्थात् हरेक पाँच जना नेपालीमा चारजना डेमोक्रेट्स छन् भने एकजना रिपब्लिकन होलान् ।
अब प्रश्न उठ्छ अमेरिकाका नेपालीको राजनीतिक ध्रुवीकरणको आधार के हो ? अर्थात् को डेमोक्रेट्स हुन्छ र को रिपब्लिकन ? अपवादलाई छोड्ने हो भने यसलाई भने लगभग सूत्रवद्ध गर्न सकिन्छ ।
को हुन्छ डेमोक्रेट्स ?
अमेरिकाका सन्दर्भमा डेमोक्रेट भनेको प्रगतिशील पार्टी हो । यथास्थितिको विरोधी भएको अर्थमा सुधारवादी पार्टी अर्थात् वामपन्थी चरित्रको पार्टी हो पनि भन्न सकिन्छ । मुद्दाको कुरा गर्दा यो पार्टी आप्रवासी मैत्री हुन्छ । वर्गीय कोणबाट हेर्दा यो मूलतः कामदार वर्गको पार्टी हो । यसले सामाजिक न्यायको मुद्दालाई सर्वथा महत्त्व दिन्छ । अमेरिकी राजनीतिका दुई अस्त्र गड र गनमा तुलनात्मक रूपमा कम विश्वास गर्छ ।
यिनै चरित्रका आधारमा नेपालबाट आएका अधिकांश नेपाली यही पार्टीका समर्थक हुन्छन् । अपवादलाई छोडेर वामपन्थी पृष्ठभूमिका नेपाली अमेरिकामा स्वतः डेमोक्रेट्स हुन्छन् । नेपालमा डेमोक्रेट्स भन्नाले कांग्रेस बुझिने भएकाले त्यही नामकै आधारमा कंग्रेस समर्थक पनि डेमोक्रेट्स भएका छन् । आप्रवासी मैत्री साझा मुद्दाका कारण अरू कुरा गौण बनाएर पनि धेरै नेपाली डेमोक्रेट्स हुने हो ।
को हुन्छ रिपब्लिकन ?
अमेरिकाको सन्दर्भमा रिपब्लिकन भनेको रूढीवादी पार्टी हो । यथास्थितिवादी चरित्रको यो पार्टी ’गड’ र ’गन’मा विश्वास गर्छ । आप्रवासीविरोधी चरित्रको पार्टीमा श्वेत रङका मानिसको बाहुल्य छ । वर्गीय कोणबाट तुलनात्मक रूपमा धनी मानिस, काम लगाउने वर्गका मानिसको पार्टी हो यो ।
कुनै समय अमेरिकामा रिपब्लिकन नेपाली भेटाउन गाह्रो थियो । तर, पछिल्ला केही वर्ष भने ’म रिपब्लिकन हुँ’ भन्ने नेपाली उल्लेख्यै संख्यामा भेटिन्छन् । सामान्यतः नेपालमा रहँदा धार्मिक, रूढीवादी चरित्र बोकेका जो मूलतः एकदलीय तानासाही व्यवस्थाका समर्थक थिए, राजावादी थिए, राजा भएको व्यवस्थाको वकालत गर्थे, कम्युनिष्टविरोधी थिए उनीहरू नै रिपब्लिकन भएका छन् ।
त्यसमा पनि अमेरिकी नागरिक भैसकेका, कामदारबाट आफू पनि काम गर्दै अरूलाई पनि काम लगाउने हैसियतमा उक्लिएका र आफू अमेरिकी भइसकियो अब अरू आप्रवासी नआउन् भन्ने सोच भएका नेपाली नै रिपब्लिकन कित्तामा पुगेका छन् ।
नेपालीलाई रिपब्लिकन बनाउन डोनाल्ड ट्रम्पको पनि अहम् भूमिका छ । उनको खासगरी आप्रवासीविरोधी अमेरिका फस्ट सोचले सिंगो अमेरिकालाई ठाडो चिरामा चिरेको छ । पछिल्लो समयमा यही मुद्दाका कारण पनि अमेरिकामा रहेका नेपाली रातो कित्तामा पुगेका हुन् । त्यो रातो कित्ताभन्दा पनि ट्रम्पवादी कित्ता हो ।
को भएको छ ट्रम्पकन ?
नेपाली रिपब्लिकन कारण भेटिए पनि ट्रम्पवादी हुने सामान्य कारण भेट्न गाह्रो छ । उनको जुन चरित्र छ, त्यसलाई हेर्दा एउटा सामान्य नेपालीले उनको समर्थन गर्नै सक्दैन । जस्तो कि, उनी आप्रवासीलाई चरम घृणा गर्छन् ।
नेपाली आफैँमा आप्रवासी हुन् त्यसैले यति आप्रवासीविरोधी मानिसको समर्थन नगर्नुपर्ने हो । यसैगरी ट्रम्प नेपाल पनि उच्चारण गर्दैनन् । एकपटक उनले नेपाललाई निपोल (स्तनको टुप्पा) भने । अमेरिकामा कसैको पनि नाम, राष्ट्रियता गलत उच्चारण गर्नु ‘डीईआईए मानक’ मानिँदैन ।
जब कुनै व्यक्तिले आफ्नो जन्मदेशको नाम पनि गलत उच्चारण गर्छ र त्यसका लागि ‘सरी’ समेत भन्दैन भने आमा र मातृभूमी स्वर्गभन्दा पनि महान् हुन्छन् भन्ने दर्शनमा विश्वास गर्ने नेपालीलाई उसको समर्थन गर्न सहज हुँदैन । ट्रम्पमा अरूप्रति सम्मान गर्ने सभ्यता र संस्कार पटक्कै छैन । यस्तो चरित्र आम नेपाली चरित्र हैन । जब त्यो चरित्र नै नेपाली हैन भने सामान्य नेपालीले उनको समर्थन गर्ने कुरै नहुनुपर्ने हो ।
तैपनि, केही नेपाली ट्रम्पवादी अर्थात् ट्रम्पकन देखिएका छन् । उनीहरू ट्रम्पले जस्तै उनका विरोधमा आएका कुरालाई फेक भन्छन् र ट्रम्पलाई राष्ट्रपति हुन ईश्वरले पठाएको ठान्छन् । यस्तो ठान्नेहरू सिँधै भन्छन्, ट्रम्पले अब आप्रवासी आउन दिँदैनन् । हामी आइहाल्यौँ, अब अरूलाई किन आउन दिने ? यो सोचका नेपाली ट्रम्पकन नेपाली हुन्, उनीहरू ट्रम्पको समर्थन गर्छन् ।
अर्कोथरि नेपालमा रहँदा उग्र कम्युनिष्टविरोधी रहेका पनि ट्रम्पकन भएका छन् । केही नेपाली कोभिड महामारीका बेला पाइएको स्टिमुलस चेक, बेरोजगार भत्तालगायतका सुविधा ट्रम्पले दिएको भनेर पनि उनको समर्थक बनेका छन् । मूलतः यिनै कारण हुन् ट्रम्पकन हुनुका ।
अपवादका रूपमा ट्रम्पकन हुनुका अरू केही थप कारण पनि होलान् । तर, २१औं शताव्दीमा कुनै विचारको पछि लाग्नु सामान्य हो तर व्यक्तिको पछि लाग्नु सामान्य कुरा हैन । यो पंक्तिकार वैचारिक हिसाबले अनि मुद्दाको आधारमा कोही नेपाली रिपब्लिकन हुनु सामान्य ठान्छ र त्यस्तो रोजाइको उच्च सम्मान पनि गर्छ । तर, विचार र मुद्दालाई गौण ठानेर व्यक्तिको पछि लाग्ने सोचलाई सामान्य ठान्न सक्दैन । प्रश्न ट्रम्पमेनिया या ट्रम्पफोवियाको हैन ।
अमेरिकामा रहेका नेपालीको वैचारिक कित्ताकाट स्वाभाविक हो र हुनु पनि पर्छ । अमेरिकी नागरिक भइसकेपछि सबै कोणबाट अमेरिकी हुने दिशामै लाग्नुपर्छ । यहाँ बसेर नेपालको राजनीतिक कुवामा डुब्नुभन्दा अमेरिकाको राजनीतिक पोखरीमै पौडने अभ्यास गर्नु श्रेयस्कर हुन्छ । एउटा भनाइ छ, रोम पुगेपछि रोमनजस्तै गर्नुपर्छ । यसलाई अमेरिकी सन्दर्भमा भन्दा अमेरिकी भएपछि अमेरिकीजस्तै हुनुपर्छ भन्ने हो ।
स्तम्भको सुरूमै भनेको थिएँ, अमेरिकी नागरिकको शपथ खाएर फर्कँदा नागरिकताको प्रमाणपत्रसँगै दिइने खाममा राखिएका चार सामग्रीको सम्मान गर्नु हरेक अमेरिकीको कर्तव्य हो । अमेरिकामा मतदान गरेर आफ्नो प्रतिनिधि छान्नु सबैभन्दा उपल्लो स्तरको नागरिक दायित्व हो । यो दायित्व पूरा गर्न नेपाली–अमेरिकी सबैभन्दा अगाडि हुनुपर्छ । त्यसो गर्न सकियो भने मात्र अमेरिकामा नेपाल र नेपाली देखिन्छन् र क्रमशः सुनिन्छन् पनि ।
यो वर्षको अमेरिकी चुनाव ऐतिहासिक महत्वको छ । ट्रम्प जित्नु भनेको अमेरिका ट्रम्पेरिका हुनु हो । ट्रम्परिका कुनै एक अमुक देश जस्तै हो, त्यसले अमेरिकी चरित्र र प्रतिष्ठा दिँदैन । अमेरिका बनाउने एउटै उपाय उनको विपक्षमा मतदान गर्नु हो । यसो गर्दा को जित्छ वा हार्छ भन्ने नै छैन, जित्ने अमेरिकाले नै हो । हरेक नेपाली–अमेरिकीको चाहना पनि अमेरिकाको जीत मात्र हुनुपर्छ ।