काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा आगोको धुवाले निसास्सिएर दुई दिदीबहिनीको मृत्यु भएको छ । कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर ११ दिनकी सुत्केरी २२ वर्षकी मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको हो ।
सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको हो भने उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
सुत्केरीका लागि सेक्न बालेको आगोको धुवाँमा ती दिदीबहिनीहरू निसास्सिएका थिए । निसास्सिएर ११ दिनको बच्चाकोसमेत अवस्था गम्भीर छ । बच्चाको आईसीयूमा राखेर उपचार भइरहेको जुम्लाका डीएसपी छेदीलाल कामतीले बताए ।