रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसका गरी १० मन्त्रीहरुले आज शपथ ग्रहण लिँदैछन् । मा लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको समय सारिएको हो ।
मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएकाे हाे । एमालेका केन्द्रीय सदस्य तथा मन्त्रीमा नाम सिफारिस भएका भूमिश्वर ढकालका अनुसार मन्त्री हुनेहरुमा यसअघि नेकपा माओवादी केन्द्रसंगको गठबन्धनमा मन्त्री भएका २ जना मन्त्री भए भने उक्त मन्त्री परिषदका २ जना बाहिरिएका छन् । यसपटक रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थी दोहोरिएका छन् ।
यसअघि ढकाल जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकासमन्त्री, पन्थी आन्तरिक मामिलामन्त्री थिए । त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् ।
यस्तै, यसैगरी नेपाली कांग्रेसबाट पनि ५ मन्त्रीले सँगै शपथ लिनेछन् । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
दुवै दलले आज मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।
कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुनु् भने अरु सबै नयाँ हुन् ।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएपनि अहिलेसम्म कतै सहभागी छैनन् ।