काठमाडौं । संघीय सांसद अन्तर्गत ६ संसदीय समितिका बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको २७औँ बैठक बिहान ९ः ३० बस्दैछ । बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थ मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने भएको हो । बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।
यता सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बिहान साढे ११ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची छ । सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । संसद सचिवालयले बैठकको कार्यसूची भने सार्वजनिक गरेको छैन ।