काठमाडौं । सरकारले विभिन्न देशमा राजदूत सिफारिस गर्ने तयारी गरेको छ गरेको छ । सरकारले भारत, जापान, अस्ट्रेलिया, मलेसिया, अमेरिका, चीन, बेलायत र रुसमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेबीच चार–चार देशमा राजदूत नियुक्ति गर्ने समझदारी बनेको हो । स्रोतका अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ ।
त्यस्तै भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ । भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गर्न लागेको हो ।
सम्भवतः आज बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूलाई राजदूतमा सिफारिश गर्नेछ । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन् । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ ।
त्यस्तै रुसमा एकीकृत समाजवादी निकट मिलनराज तुलाधर र अस्ट्रेलियामा कैलाश राज पोखरेल अहिले राजदूत छन् । तुलाधर र पोखरेललाई पनि फिर्ता बोलाउने तयारी छ । भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यस अघिकै प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाइसकेको छ ।