Logo
Logo

चिनियाँ साथीको सहयोग


2.9k
Shares

चीनमा पुगेको एक वर्ष जति भएको थियो । यो एक वर्षमै चीनमा तीव्रगतिमा भइरहेको परिवर्तनको साक्षी भइरहेकी थिएँ । गज्जबको संक्रमणकाल थियो त्यो । कतै कतै अझै पनि सांस्कृतिक क्रान्तिको धङधङी बाँकी नै थियो ।

केही पुराना बुद्धिजीविहरू थकित देखिन्थे । भइरहेको परिवर्तनलाई आत्मसात गर्न नसकेजस्तो, अल्मलिएजस्तो, असन्तुष्टजस्तो । सिंगो चिनियाँँ समाजको अध्ययन गर्न नसके पनि देखिएसम्मका घटना–प्रवृत्तिलाई म पनि नियाल्दै थिएँ ।

समाजका विभिन्न तप्कालाई बुझ्न खोज्दैथिएँ । शतप्रतिशत सबै खुसी नै देखिने समाज त कतै नहोला । त्यहाँ पनि थिएन । तर, कम्तिमा बजारमा हात थापेर मागिरहेको कहिँ देखिंदैनथियो । दुःखी त पक्कै हुँदा हुन् । तर, तिनका दुःख छताछुल्ल पोखिएको देखिंदैनथ्यो ।

चिनियाँँहरूको मिहिनेतको त के कुरा गर्नु ! जताततै निर्माणको काम तीव्र गतिमा भइरहेको त्यो बेला कामै नगरी बस्ने बेरोजगार कोही देखिंदैनथे । बुढाबुढी पनि आफ्नो अवकास प्राप्त जीवनमा रमाइरहेकै देखिन्थे ।

तीमध्ये सक्नेले स्वयंसेवक भएर केही न केही गरिरहेका हुन्थे । बाटोमा, पार्कहरूमा लगाइएका बारहरूलाई कपडा लिएर सफा गरिरहेका स्वयंसेवी बुढाबुढी देख्दा श्रद्धा लाग्थ्यो, देशलाई आफू बस्ने ठाउँलाई माया गर्ने भनेको त यस्तो पो हुनुपर्ने भन्ने लाग्थ्यो ।

घरमा एक्लै बस्नु भन्दा जति सुकै सानो भए पनि समाजका लागि केही न केही काम लाग्ने गतिविधिमा लागेर दिन बिताउने कस्तो राम्रो चलन ! हाम्रो आफ्नै दैनिक जीवनमा भने खासै परिवर्तन आएको थिएन । सरोज चिनशानको अस्पतालमा, बच्चा उसकै सानो होस्टेलमा, अनि म पनि आफ्नै होस्टलमा ।

छुट्टीको बेला सबै जम्मा हुन्थ्यौँ । हरेक सोमबार बिहानै फेरि आ–आफ्नो ठाउँमा पुग्नु पथ्र्यो । छोरीलाई छोड्न जाँदा मन असजिलो हुन अझै छोडेको थिएन । एक्लै बस्दा चाहिँ अब त केही लेख्नु प¥यो भन्ने लाग्न थाल्यो । चीन आउनु अगाडि नै श्रीलक्ष्मी बहिनी “एउटा कथा संग्रह निकाल्नु प¥यो, दिदी !’’ भन्थिन् मायाले ।

कथाको संख्या अलि नपुगेजस्तो लागेकोले र अरु परिस्थितिले पनि संग्रह नै निकाल्न सकिएको थिएन । यतिबेला सम्झिन थालें । अब त लेख्न सुरु गर्नुपर्ने हो भन्ने लाग्यो । नेपाल छोड्ने बेलातिर आदरणीय आनन्ददेव भट्टले दिएका लेख्ने प्रेरणालाई पनि बेला बेलामा सम्झिन थालेकी थिएँ ।

बच्चाको उमेरका कारण किन्डरगार्टेनको बसाई पनि सकिन लागेको थियो । यो भने नयाँ चिन्ताको विषय बन्यो । ठूलो बच्चाको निम्ति होस्टेल थिएन । जसरी भए पनि आफैसंग राख्नुको विकल्प थिएन ।

सोच्दै थिएँ । सरोजको फोन आयो– उनको किड्नीको स्टोनले बेस्सरी दुःख दिएछ । अपरेशन नै गर्नु पर्ने भएछ । विदेशमा कोही आफन्त थिएनन्– केही नेपाली साथीहरू बाहेक । अलि अलि नियमित हुन थालेको जीवन फेरि अस्तव्यस्त हुने छाँट आयो । अपरेशन भनेपछि धेरै डर लाग्थ्यो मलाई । उहिल्यै पाटन अस्पतालमा मेरो अपरेशन हुँदा त सरोज आफै त्यही अस्पतालमा काम गर्थे र म ढुक्क थिएँ । यतिखेर भने मलाई न भाषा राम्रो आइसकेको थियो, न कुनै नजिकका सहयोगीहरू नै थिए ।

डाक्टरकै अपरेशन हुँदै थियो । घरमा खबर गर्नुको त कुनै अर्थ नै थिएन । चिन्ता बढाउने काम मात्र हुने थियो । आफै शिक्षण अस्पतालमा काम गरिरहेको भएपनि, विदेशीहरूका निम्ति विशेष सुविधा सहितको सिटी अस्पतालमा पठाउँदा रहेछन् । सरोजले पनि त्यो सुविधा नै रोजे । शहरको केन्द्रमा थियो अस्पताल ।

अहिले छ कि छैन थाहा छैन । सरोजलाई अस्पतालमा छोडेको रातभरी म सुत्न सकिन चिन्ताले । अकस्मात रगतको खाँचो प¥यो भने के गर्ने ? अरु समस्या आए के गर्ने…? आदि कुरा कल्पना र चिन्ता मन भरी आइरह्यो ।

सम्भावित समस्याहरूको बारेमा अरु केही सरोजका नेपाली साथीहरूसँग छलफलै नगरेको होइन । सहयोगको अपेक्षा पनि थियो प्रत्यक्ष नभने पनि । किनभने, सरोजसँग त साथीहरूको राम्रो सम्बन्ध थियो । रमाइलो गर्ने बेला मात्र नभएर कसैको स्वास्थ्य समस्या आउँदा दौडेर होस्टेलसम्मै पुगेर हेर्ने र साथीहरूलाई पर्दा सल्लाह दिने गर्थे ।

अस्पताल नजिक होस्टेल भएका एकजना मिल्ने साथीसँग त मैले पहिल्यै सहयोग मागेकै पनि थिएँ । सरोजको अपरेशनको बेलामा आईदिनु भनेर । मलाई अझै भाषाको समस्या हुने कुराले पनि म आत्तिएकी थिएँ । साथीले ‘हुन्छ’ ‘आउँछु’ पनि भनेका थिए । मलाई अलिकति राहत जस्तो पनि भएको थियो ।

अपरेशनको निम्ति स्वीकृति पत्रमा हस्ताक्षर गर्ने बेलामा मेरो हात थरथर काँप्न थाल्यो । चिन्ता झनै बढ्यो । भोलिपल्ट अपरेशन गर्ने दिन बिहानै अस्पताल पुगे । बुढाले मलाई चिन्तित देखेर ‘केही हुँदैन, चिन्ता नगर’ भन्दै थिए । धेरै बेर कुरा हुन नपाउँदै, अपरेशन थिएटरमा लाने बेला भइसकेछ ।

साथीहरू कोही थिएनन् । कोही आइपुगेनन् । आउँछु भन्ने साथी पनि पुगेनन् । त्यो सम्झँदा अहिले पनि अत्यास लाग्छ । बुढालाई भित्र लगेपछि एक्लै म, आँखाबाट झरेको आँशुले मात्र साथ दिएको थियो । कहिल्यै नदेखेको ईश्वरलाई पनि पुकार्न थालेँ … ।

एक्लै आँखा चिम्लेर बस्दै थिएँ, अचानक ‘नि हाओ’ भन्दै सरोजको पुरानो सहपाठी साथी ‘छ्येन् कुइ–लिन’ हस्याङफस्याङ गर्दै आइपुगेको देखेँ । चिनियाँ भाषामा सरोजलाई ‘सालोइ’ भन्थे । सालोइको अपरेशन छ भनेर थाहा पाएर दौडिँदै आएको भने । मेरो निम्ति त साँच्चैको भगवान उनै पो भइदिए ! मेरो आँखा देखेर होला ‘चिन्ता लिनु पर्दैन, म छु नि यहाँ …’ भने ।

उनी आफैँ पनि डाक्टर, तर अर्कै अस्पतालमा काम गर्थे । तिब्बतमा केही वर्ष काम गरेर भर्खरै जस्तो साङघाई फर्केका थिए । कसरी सरोजको अपरेशन भएको कुरा थाहा भएछ– यो पनि अचम्मै भयो । उनी त्यहाँ पसेपछि मेरो सबै चिन्ता कम भयो । कृतज्ञ भएँ उनीप्रति । विदेशको ठाउँमा त्यो कस्तो संयोग !

अपरेशन सकिएको सूचना आयो भित्रबाट । अपरेशन राम्रो भयो रे ! केही बेरपछि नै क्याविनमा भेट भयो । बल्ल मन आनन्द भयो । बाहिर भर्खरै अपरेशन गरी निस्केको मान्छे मेरो बुढाको अनुहार उज्यालो थियो मलाई र पुरानो मिल्ने साथीलाई देखेर ।

एकछिन पछि नै ‘मलाई केही भा’छैन ल हेर’ भनेर मलाई देखाउन सरोज सकिनसकी हिंडेर देखाए । म हाँसें । त्यसपछि सारा काम उनै डाक्टर छ्येन कुइ–लिन्ले गरिदिए, सबभन्दा नजिकको साथी भएर । साथीप्रति उनले देखाएको आत्मियताले मैले पनि मन मनै भने– कसैको आपद विपदमा म पनि उनले जस्तै सहयोग गर्न सकुँ !

प्रतिक्रिया दिनुहोस्