काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता गरेको छ ।
बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित सो कोषबाट स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न, र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले सहयोग प्रदान गरेको हो ।
बैंकले शारीरिक तवरले फरक बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गर्न ई नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ । यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरुलाई थ्रिडि प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ ।
प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरुलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ ।
बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा “न्यानो नानी” परियोजना ५ लाई निरन्तरता दिने घोषणा गरेको छ । हाइपोथर्मियाको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै, उक्त जोखिमलाई न्यूनीकरण गर्ने अतिसंवेदी र महत्वपूर्ण १० वटा जीवनरक्षक चिकित्सा उपकरण न्यानो नानी बेबी वार्मर मेसिन बनाई, आवश्यकता भएका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्ने सम्झौता भएको हो ।
त्यस्तै, बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वावलम्बन नेपाल संस्थासँगको सहकार्यमा संस्थामा अभिभावक विहीन बालबालिहरुको आंशिक भएपनि अभिभावकत्व निर्वाह गर्ने, सिकाइ वातावरण अभिवृद्धि र समग्र शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ डेस्क बेञ्चहरु प्रदान गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ ।