Logo
Logo

हिँड्नेहरूको पनि हो सहर


252
Shares

स्वतन्त्रसँग हिँड्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । तर, संघीय राजधानीमै यो अधिकार हनन भइरहेको छ । अर्थात् आमनागरिक सडकपेटीमा खुलमखुला रुपमा हिँड्न पाएका छैनन् ।

हिँड्नको लागि हरेक सडक छेउछाउ फुटपाथ चाहिन्छ । फुटपाथ नै नभए कहाँ हिँड्ने ? सडकमा हिँडेन मिलेन । भित्तामा हिँड्न सकिँदैन । त्यसैले यहाँ हिँड्नेहरूले पाइलैपिच्छे ठक्कर खानुपरेको छ । गहना लुकाएर हिँड्नुपरेको छ । पाकेटमारदेखि जोगिन गाह्रो छ ।

एक त यहाँका सडकमा फुटपाथ छैन । भएका ठाउँमा पनि साँघुरा छन् । त्यसैमाथि थरीथरीका अवरोध । अटिनअटी मान्छे । एक अर्काको काँध जुध्ने । खुट्टा टेकिने । अटेसमटेस हुने । यस्तो ठाउँमा कसरी हिँड्ने ? कहाँ हिँड्ने ? सडकमा ओर्लूँ गाडीले किचाउने डर । पछाडिबाट हानिदेला भन्ने डर । बालबालिका, वृद्ध र शारीरिक अपाङ्गता भएकाहरू झनै गाह्रो ।

साँघुरो फुटपाथ पैदलेको मात्र कहाँ छ र ? गाडीवालाको पार्किङ स्थल त्यही बनेको छ । ठाउँ भेट्यो कितेर्स्याइहाल्छन् । दोकानेले आधा हिस्सा खर्लप्पै खाइदिन्छन् । आँगन बनाइदिन्छन् । आफूकहाँ आउने–जाने बाटो नै गायब बनाइदिन्छन् ।

कहीँ मोटरसाइकल वर्कसप बनेको छ । मिस्त्रीहरू फुटपाथमै मोटरसाइकल घ्यारघ्यार पारिरहेका हुन्छन् । मानौँ, यो उनीहरूको कारखाना हो । विद्युत् प्राधिकरणको मिचाइ उस्तै छ । फुटपाथबिच ठिङ्ग खम्बा ठड्याएको छ ।

सिसडोलमा अवरोध भएको सूचना पनि फुटपाथबाटै थाहा पाइन्छ । फोहोर लैजान अवरोध हुनेबित्तिकै यहाँ फोहोरको डंगुर हुन्छ । हरियालीका नाममा पनि मिचिएका छन् फुटपाथ । सडक किनार रूख रोपिन्छ । तर, व्यवस्थित छैन ।

काठमाडौं यस्तो अद्भुत महानगर हो, जहाँ धेरै ठाउँमा फुटपाथै छैन । पैदलयात्रु गाडी हुइँकिने सडकमै जोखिम मोल्न बाध्य छन् । त्यसैले काठमाडौं महानगरले फुटपाथको विस्तारको काम सुरु गरेको छ । जुन काम सराहनीय पनि छ ।

महानगरले न्युरोडको सडक पैदलयात्रीमैत्री बनाउन गत जेठ देखि नै थालेको थियो । तर, त्यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा प¥यो । त्यसपछि फुटपाथ विस्तारको काम रोकियो । गत असार ३० मा अदालतले महानगरको पक्षमा फैसला गर्यो ।
अदालतको आदेश पाएपछि महानगरले फेरि फुटपाथ विस्तारको काम अघि बढायो । तर, स्थानीय र व्यापारीको अवरोध सुरु भयो । उनीहरू ‘फुटपाथ बढाउन हुँदैन’ भन्दै आन्दोलनमै उत्रिए । जसको नेतृत्व वडाध्यक्षले गरेका छन् । महानगर प्रहरी, नेपाल प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल चल्यो । भीडले महानगर प्रमुख बालेन साहविरुद्ध नाराबाजी गर्यो ।

हामी एकातिर संविधानमा कानुनी राज्यको परिकल्पना गर्छौँ । तर, व्यवहार भने त्यसको ठिक उल्टो छ । फुटपाथ विस्तार पनि यस्तै अराजकता बढ्यो र अवरोध खडा भयो । संविधानले नै कानुनी राज्यको परिकल्पना गरेकोमा बालेनले चालेको यस कदमलाई कानूनीतवरले नकार्नु पर्ने कुनै कारण छैन । तर, विकास जनताको लागि हो । जनताको भावनाअनुसार गर्नुपर्छ ।

फुटपाथ विस्तारको विरोध गर्नेहरूको तर्क छ– ‘सडक साँघुरो बन्यो । हामी यहाँको रैथाने हौँ । हाम्रो कुरा चल्नुपर्छ ।’ विकास गर्दा स्थानीयसँग समन्वय पर्नुपर्छ । तर, सबै उनीहरूले नै सबै हुन्छ भन्ने पनि हुँदैन । आवश्यकता अनुसार सडक र फुटपाथ बढाउनुपर्छ ।

सहरको सुन्दरता चिल्ला सडक, अग्ला महल, भ्यु टावर र हरियाली पार्कहरूले मात्र हुँदैन । जबसम्म सहरको फुटपाथ व्यवस्थित हुँदैन, तबसम्म सहर सभ्य र सुन्दर हुनै सक्दैन । विकास भनेकै सडक र गाडी मात्र हो भन्ने सोच त्याग्न जरुरी छ ।

काठमाडौं, सिर्फ काठमाडौं मात्रै होइन । यो देशको संघीय राजधानी हो । त्यसैले काठमाडौं यहाँका रैथानेको मात्रै सहर होइन । यहाँ मेचीदेखि महाकालीसम्मकै नागरिक बस्छन् । झन्डै ६० लाख मानिस काठमाडौं उपत्यकामा बस्ने बताइन्छ ।

तर, आधा जनसङ्ख्या लुरुलुरु हिँड्ने सहरमा फुटपाथ विस्तार गर्दा किन हुन्छ, यत्रो हुलदंग ? यहाँ फुटपाथ हुँदै नभएको होइन । केही ठाउँमा छ । तर, त्यो पनि जनसंख्याका आधारमा निकै सानो रहेको छ ।

नयाँ सडक काठमाडौंको मुटु हो, जहाँ स्थानीय, विदेशी गरी लाखौं नागरिक पैदलै ओहोरहोर गरिरहेका हुन्छन् । सानो सामान किन्न पनि मानिसले न्यूरोड नै रोज्छन् । त्यसैले पनि न्यूरोड, वसन्तपुर, असन, इन्द्रचोकजस्ता ठाउँमा भीड बढी हुने गरेको छ ।

नेपालको सडक मापदण्ड अनुसार व्यस्त ठाउँमा कम्तीमा १.५ मिटर फुटपाथ हुनुपर्छ । १५ सय हिँड्ने सडकमा २ मिटरको र ३५ सय मानिसले प्रयोग गर्ने ठाउँमा ३ मिटर चौडाइको फुटपाथ हुनुपर्ने कानूनी व्यवस्था छ । विश्वव्यापी रुपमा फुटपाथको चौडाइ ४ मिटर हुनुपर्ने मापदण्ड छ ।

फुटपाथमा प्रायः बालबालिका, ज्येष्ठ नागरिक, असक्त अपाङ्गता भएका र गरिबहरूले धेरै हिँड्नुपर्छ । किनमेल गर्ने धनीहरूलाई पनि फुटपाथ आवश्यक पर्छ । फुटपाथमा बाधा हालेर स्वतन्त्र र सुरक्षित रूपले हिँड्ने अधिकार उल्लंघन गर्नु असभ्य व्यवहार हो ।

सहरको सुन्दरता चिल्ला सडक, अग्ला महल, भ्यु टावर र हरियाली पार्कहरुले मात्र हुँदैन । जबसम्म सहरको फुटपाथ व्यवस्थित हुँदैन, तबसम्म सहर सभ्य र सुन्दर हुनै सक्दैन । फुटपाथ व्यवस्थित नभएसम्म ट्राफिक व्यवस्थापन पनि हुँदैन । सडकबाटै मान्छे हिँड्न बाध्य हुन्छन् । मान्छे नै सडकमा हिँड्न थालेपछि सवारी साधन कहाँ हिँडेन ? कसरी हिँडेन ? यो अर्कै समस्या हो ।

अर्कोतिर यहाँ फुटपाथलाई सम्मान छैन । फुटपाथमा हिँड्नेलाई होस् या बस्नेलाई । त्यसैले यहाँ सम्मान संस्कृतिको विकास गराउन पनि फुटपाथ विस्तार र यसको महत्त्व बुझाउन जरुरी छ ।

विश्वका विकसित सहरहरूले फुटपाथ विस्तारमा विशेष ध्यान दिएका छन् । लन्डन संसारकै उत्कृष्ट पैदल–सहर बन्न खोज्दैछ । फुटपाथ गर्न खर्बै खर्च गर्दैछ । न्यूयोर्क पनि पुराना रेल्वे ट्रयाक मर्मत गरेर फुटपाथ बनाउँदै छ । यस्ता फुटपाथ सहरभरि छन् । उदाहरण दिएर साध्ये छैन ।

यी विकसित सहरमा गाडी हाँक्ने क्षमता नभएको होइन । बजेट नभएर पनि होइन । उनीहरूले सहर हिँड्नेको पनि हो भन्ने बुझेका छन् । हामी सबैसँग गाडी कुदाउने ल्याकत छैन । आधाभन्दा बढी जनसङ्ख्या पैदलै हिँड्छन् । यहाँ धेरै हिँडेरै आफ्नो गन्तव्यमा पुग्ने गरेका छन् ।

सडक फराकिलो बनाउनु उच्च वर्षको लागि मात्र हो । तर, फुटपाथ फराकिलो बनाउन सबैको लागि हो । विकास पनि सबैको लागि हुनुपर्छ । विकास भनेकै सडक र गाडी मात्र हो भन्ने सोच त्याग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्