Logo
Logo

डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत


315
Shares

काठमाडौं । विगत २८ वर्षदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२औँ जन्मस्मृति सभामा गुठीले २०८१ सालको ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समर्पण गरेको हो ।

त्यस्तै, यस वर्षको ‘सेवा पुरस्कार नेपाल’ पत्रकार तथा लेखक चन्द्रकिशोरलाई समर्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पु्रुष डा. गौरीशंकर लाल दासले दुवै व्यक्तित्वलाई पुरस्कृत गरे । पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कारका साथ नगद राशि जनही २ लाख २२ हजार २२२ रुपैयाँ प्रदान गरियो ।

कार्यक्रममा यस वर्षको ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार’ हिन्दु विद्यापीठ थलीका छात्र अनुप दाहाललाई प्रदान गरियो । प्रा.डा. लोकविक्रम थापाद्वारा स्थापित यस पुरस्कारकासाथ नगद राशि १० हजार प्रदान गरियो । कार्यक्रममा गुठीको स्मारिका ‘सेवा नेपाल’को कृष्णप्रसाद भट्टराई विशेष अंक र विशेष ग्रन्थ ‘किसुनजी’ लोकार्पण गरिएको थियो ।

सोही अवसरमा गुठीका सल्लाहकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रीमती पुनमाया महर्जनलाई नगद राशि २५ हजारसहित श्रम सम्मान समर्पण गरे । कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले समाजका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गर्न पाउँदा आफैं सम्मानित भएको अनुभव गरेको बताए ।

श्रममन्त्री भण्डारीले किसुनजीसँगका केही सम्झना स्मरण गरेका थिए । राजनीतिज्ञ नवराज सुवेदीले मन्तव्यमा बद्रीविक्रम थापासँगको सम्बन्धको चर्चा गर्दै केही स्मृतिहरू सुनाए ।

उक्त अवसरमा पुरस्कृत व्यक्तित्व डा. रुइतले कर्मयोग बद्रीविक्रम थापाको सम्झना गर्दै उनी समाजसेवीका साथै कुशल सुशासक भएको बताए । अर्का, व्यक्तित्व पत्रकार चन्द्रकिशोरले पत्रकारहरूले भुइँमान्छेका कुरा लेख्नुपर्ने उल्लेख गरे ।

उक्त अवसरमा गुठीका अध्यक्ष प्रा.डा. सुरेशराज शर्मा, कोषाध्यक्ष किरण थापा, सदस्य श्रीओम रोदन र हरि मञ्जुश्रीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्