काठमाडौं । नेप्से परिसूचकमा दुईपटक सर्किट ब्रेक लागेपछि खुलेको छ । आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो ।
२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।
सवा १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५५ अंक (२.१६ प्रतिशत) बढेको छ । यो समयसम्म नेप्से २६२५ अंकमा छ भने २ अर्ब ७४ करोडको कारोबार भएको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।