कपिलवस्तु, १९ बैशाख । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गएराति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भएपनि सकुशल रहेका छन् ।
करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए ।
वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उहाँलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो । रासस