काठमाडौं । त्रिशुली नदीमा बेपत्ता दुईवटा बस खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दुई दिनअघि हराएको १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा भेटिएकोृ जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकस्थित सिमलतालमा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्न भारतबाट १४ र १९ किलोका दुईवटा चुम्बक ल्याइएको थियो । जसमा १९ किलोको चुम्बक त्रिशुली नदीले बगाएको थियो ।
असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
ती दुवै बसमा सवार ६५ जनामध्ये तीनजना पौडिएर निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था अज्ञात छ । भारतबाट आएका उद्धार टोली पनि आइतबार नै स्वदेश फर्किसकेका छन् ।