काठमाडौं । सहकारी छानबिन समितिले सहकारीको रकम हिनामिना गरी विदेश भागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेका जीबीसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकपछि समितिका सभापति सूर्य थापाले सहकारी हिनामिनामा जोडिएका कतिपय व्यक्तिहरु बाहिरी देशमा रहेको र उनीहरुलाई अनुसन्धानको दायरामा ल्याएपछि मात्र छानविन एउटा निष्कर्षमा पुग्ने बताए ।
उनका अनुसार अमेरिका, बलायत, कतार, भारत लगायत विभिन्न देशमा लुकेर बसेका १८ जनालाई तत्काल झिकाउन गृहमन्त्रीलाई निर्देशन दिइएको हो ।
समितिले तत्काल स्वदेश फिर्ता बोलाउन भनिएकाहरुमा सूर्यदर्शन सहकारीका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी रहेका छन् ।
त्यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।
त्यसैगरी शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिइएको सभापति थापाले बताए ।