Logo
Logo

सिराहमा सशस्त्रका एसपी गैरेले राति लाइन चलाएको आरोप


3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी सिरहाका एसपी शिव गैरेमाथि कारवाहीको माग गर्दै सशस्त्र प्रहरी मूख्यालय र हेलो सरकारमा उजुरी परेको छ । एसपी गैरै सिराह पुगेको तीन महिनामै त्यहाँका नबराजपुर, बरियारपट्टि, इनर्बा, इट्टाटारको नाका राती खुला गरेको आरोपमा कारवाहीको माग गर्दै उजुरी परेको हो ।

दिउँसो कडा गरेको जस्तो गर्ने राती खुला गरेपछि स्थानीय व्यापारीहरुले उनका विरुद्ध उजुरी गरेका हुन् । स्थानीय व्यापारीहरुको दैनिक उपभोग्य सामान विक्री नभएपछि उनीहरुले ती नाकामा निगरानी राख्दा व्यापाक तस्करी भएको र त्यहाँबाट सामान आउदा स्थानीय व्यापारीहरुको सामान विक्री नभएको पत्ता लागेको थियो ।

स्रोतका अनुसार भारतबाट कपडा, खाद्यान्न तथा हार्डवेयरको सामानहरु नेपाल आउने गरेको छ । नेपालबाट मदिरा, फलफूल, गाई गोरु, चुरेको गिटी बालुवा तस्करी हुने गरेको छ । सिराह विवादित जिल्ला भएकाले लत्ताकपडा तस्करीको आरोपमा यसअघि प्रमोद भारती, रामहरी खड्का कारबाहीमा परिसकेका छन् । उनीहरु कारवाहीमा परेको दृष्टान्त हुँदा हुँदै पनि एसपी गैरेले राती नाका खुलाएको र त्यहाँबाट अतिरिक्त आम्दानी बुझेको आरोप लागेको छ ।

मुख्यालयले हेलो सरकारको उजुरीलाई भने गम्भीरतापूर्वक लिएको जनाएको छ । आइजीपी सचिवालयमा पनि यो विषयमा व्यापक छलफल भएको थियो । एसपी गैरेकै विषयमा छलफल भएपछि उनका घुमुवाहरुको बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

‘तस्करी रोकिएन भने केही समयमा सोच्नुपर्ने हुन्छ’, मूख्यालयका एक अधिकारीले भने । तस्करी काण्डमै पबन खड्का डिएसपीमाथि पनि कारबाही हुन लागेकोमा शक्तिकेन्द्रको आडमा रोकिएको थियो । उनको कारवाही रोकिएपछि विभागले उनलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताइएको छ ।

स्रोतका अनुसार तस्करीको सामान गोलबजार सम्म आउँछ, मिर्चैया, लाहान बेशका कमान्डर समेत लाइन लिने गरेका छन् । पछिल्लो समय सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरुले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको छ ।

स्थानीय व्यापारीहरुका अनुसार सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) छन् । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) र सँगै नेपाल प्रहरी पनि छ ।

स्थानीयका अनुसार झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । यहाँ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीको सहयोगका लागि भन्सार परिसरमै इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी तैनाथ गरिएपनि त्यहीबाट मिलेमतो हुने गरेको छ । व्यापारीहरुका अनुसार यो नाकाबाट तस्करी बेरोकटोक चलेको छ । दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहना र सुन तस्करी हुने गरेको उनीहरुको दाबी छ ।

यस्तै लत्ताकपडा, मोटर पाटर््स, खाद्य सामान, प्रतिबन्धित कुखुरा, सेतो अण्डा तस्करले सेटिङमा ल्याउने गरेका छन् । अर्कोतिर सिरहाको पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भिœयाउने गरेको माडरका स्थानीय बताउँछन् ।

यसैगरी झापाका एसपी कैलाश राइले कमाण्ड सम्हाल्न नसकेको आरोप लागेको छ । काकडभिट्टाका डिएसपी लोकनाथ उप्रेति र पशुपतिनगरका डिएसपी हेमबहादुर श्रेष्ठमाथि मुख्यालयले छानवीन शुरु गरेको छ । हेलो सरकारमा परेको उजुरीका आधारमा उनीहरुमाथि छानवीन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्