काठमाडौं । सुदूरपश्चिमप्रदेशका प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
सोमबार २ बजे बसेको सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् ।
एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले टर्च बालेर सरकार खोजिरहेको बताए । ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन् । सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ’, नेता रावलले भने ।
प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विशेष अधिवेशनमा सहभागी नहुने रणनीति तय गरेका छन् ।
सरकारका तर्फबाट कोही नआएपछि प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको छ ।