काठमाडौं । सरकारले सचिव सरुवाको अन्तिम तयारी गरेको छ । खासगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र रक्षामन्त्री मानवीर राईले सचिव सरुवा गर्ने प्रस्ताव गरेपछि अन्य मन्त्रालयका सचिवहरुको पनि सरुवा तयारी भएको छ । राइले मन्त्रालय सम्हालेको केही दिनमै विवादित सचिवको सरुवा गरिदिन आग्रह गरेका थिए । सचिव किरण शर्मा आफैले पनि सरुवाको चाहाना राखिसकेका छन् ।
अर्थमन्त्री पौडेलले अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई ल्याउने तयारी गरेका छन् । हाल राजस्व सचिव रहेका घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिएर राजस्वमा भने वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेलाई लैजाने तयारी भएको स्रोतले जनाएको छ ।
अर्थ सचिवका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल र रामप्रसाद घिमिरेबीच तीव्र प्रतिस्पर्धा भएपनि घिमिरेलाई एमालेको साथ रहेका कारण अर्थमै राख्ने तयारी छ । अख्तिायरबाट दंगाल रक्षा सचिवमा जाने सम्भावना प्रवल छ । रक्षा नभए उनी वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवका जाने स्रोतले बताएको छ । रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाउनकै लागि दिनेश घिमिरेलाई राजस्वमा ल्याउन खोजिएको हो ।
अर्थका सचिव मधुकुमार मरासिनी र रक्षा सचिव किरणराज शर्मालाई भने निकै कम भूमिका रहेको ठाउँमा पठाउने तयारी छ । मरासैनी भ्रष्टचार आरोपी हुन भने शर्मा विदेशी पिआरधारी हुन । उनी सेनाको‘एसम्यान’को रुपमा परिचित छन् । अर्थ सचिव मरासिनीको सरूवा उपराष्ट्रपति कार्यालय हुन सक्ने सम्भावना देखिन्छ । उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई यसपटक कामकाजी मन्त्रालयमा पठाउने तयारी भएको स्रोतले जनाएको छ ।
यता गृह सचिवका लागि भने मुकुन्दप्रसाद निरौला, बिनोदप्रकाश सिंह र कृष्णहरि पुष्कर कर्णबीच तीव्र प्रतिस्पर्धा छ । निरौला आपूर्ति मन्त्रालयमा हुँदा सुपारी तस्करीको लाइन खुलाएको आरोप लागेको थियो । उनले सो विषयमा संसदीय समितिमा आफ्ना धारणा समेत राख्नु परेको थियो ।
वित्त आयोगमा घाम तापेर बसेका मधुसुदन बुर्लाकोटीलाई अहिले तत्काल सरुवा नगर्ने भएको छ । उनले राम्रो मन्त्रालयमा काम गर्ने इच्छा जाहेर गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई भेटेर उनले आफूलाई कामकाजी मन्त्रालयमा पठाइदिन र त्यही अनुसारको काम गर्ने पनि जनाएका छन् । तर उनको सरुवा हुने सम्भावना निकै कम रहेको छ ।
गृहमा जान खोजेका सिंह यसअघि पनि गृहसचिव नै रहेका थिए । उनी गृहसचिव हुँदा विवादित बनेका थिए । उनलाई टेरामक्स प्रकरणमा अख्तियारले बयान पनि लिइसकेको छ । कृष्णहरि पुस्कर पनि विवादित सचिव हुन् ।प्रधानमन्त्री कार्यालयमै बसेर अख्तिायरले पिआर छानवीनका लागि पठाएको पत्र नै लामो समय गायब बनाउने कर्मचारी भएकाले पुष्करले गृह प्रशासन हाँक्ने क्षमता कम रहेको छ ।
गृहसचिव एक नारायण अर्याललाई सरुवा गर्ने तयारी भएको छ । उनलाई कहाँ पठाउने भन्ने टुंगो लागेको छैन । मूख्यसचिवका प्रमुख दावेदार रहेका अर्याल र दिनेश भट्टराईलाई एकै पटक सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा राख्ने कि भन्नेमा मूख्यसचिव लिलादेवी गड्तौलाले सोच बनाएको ओली निकट स्रोतले जनाएको छ ।