Logo
Logo

सेनापतिबारे प्रधानमन्त्री मौन, सर्वोच्चले बाटो खोल्यो


819
Shares

काठमाडौ । वर्तमान सरकारले नयाँ प्रधानसेनापतिको नियुक्ति गर्ने दिन नजिकिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली मौन रहेका छन् । नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकता विवादमा बहस भैरहेका बेला प्रधानमन्त्री ओलीले उचित निर्णय लिनुपर्नेमा अहिले मौन रहेका छन् ।

रक्षामन्त्री मानवीर राईलाई यो विषयमा विभिन्न माध्यमबाट जानकारी गराइएको छ । निर्णय क्षमता कमजोर रहकाले मन्त्रालयका सबै काम प्रधानमन्त्रीको सचिवालयबाटै हुने भएकाले प्रधानसेनापतिको नियुक्तिदेखि रक्षा सचिवको सरुवा समेतमा रक्षामन्त्री राईको हात पनि कम नै रहने भएकाले सबैको ध्यान प्रधानमन्त्री केपी ओलीतिर तानिएको छ ।

भावी प्रधानसेनापतिको जन्ममिति विवाद बारेको बहसले सदनमा प्रवेश पाइसकेको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले रथी सिग्देलको नागरिकता विवादबारे प्रश्न उठाएका थिए । रथी सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको जंगी अड्डा स्रोतको दाबी छ ।

२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ ।

२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ। उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ ।

सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ ।

त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।

सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ ।

सिग्देलले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेको पाइएको छ । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुने गरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, रथी सिग्देलले प्रतिलिपि लिँदा जन्मेको महिना र गते परिवर्तन गरेको देखिन्छ ।

रथी सिग्देलको नागरिकता विवादमा सांसदहरूले समेत चासो राखेको अवस्थामा प्रधानमन्त्री मौन देखिएका हुन् । यही विषय सर्वोच्च अदालतमा निवेदन परेको थियो । अदालतले यो विषयमा साउन १३ गते नै निवेदन दरपीठ गरेको छ । अदालतको क्षेत्राधिकारभित्र नपरेको र आवश्यक प्रमाण समेत नपुगेको भन्दै दरपीठ गरेपछि उनलाई प्रधानसेनापति हुने बाटो खुलेको छ ।

प्रतिपक्षी दलका नेताहरु प्रभु साह लगायगले यो विषयमा संसदमा प्रश्न उठाइसकेका छन् । सञ्चारमन्त्री हुनअघि नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले राजनीतिक दल र नेताहरूले प्रहरीलाई पंगु बनाएको टिप्पणी गर्दै सेनालाई चुस्तदुरुस्त राख्नु पर्ने भनिसकेका छन् ।

गुरुङले प्रहरीमा राजनीतिकरणदेखि पार्टीकरण हुँदै गुटकरण र व्यक्तिकरणसम्म पुगेको दृष्टान्त दिएर यसबाट नेपाल प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थति नबनेको र आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता प्रदर्शन गर्न नसकेको जिकिर गरेका बेला उनी आफै अहिले सरकारको मन्त्री र प्रवक्ता बनिसकेका छन् । अबको साउन २६ गतेबाट वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा विदा बस्दैछन् । उनको ठाउँमा रथि अशोकराज सिग्देलले सम्हाल्ने देखिन्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले उनको जन्ममिति विवादबारे प्रष्ट ढंगले बुझ्नु र बुझाउनु पर्नेछ ।

नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ । प्रधानसेनापति शर्माले सिग्देललाई नै जिम्मेवारी हस्तान्तरण गर्ने निश्चित छ । बलाध्यक्ष रथी निर्मलकुमार थापा हाल शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर छन् । सिरियामै रहेका थापाको दुई वर्षे कार्यकाल अझै तीन महिना बाँकी छ ।

नेपालमा कमान्ड हस्तान्तरण हुँदा पनि उनी आउने सम्भावना कम छ । नेपाली सेनामा बलाधिकृत रथीलाई नै प्रधानसेनापति बनाउने चलन छ । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन् ।

प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उनी गएको मंसिरमा रथीमा बढुवा भएका थिए । जन्ममिति विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए । रथि सिग्देल र पाण्डेको विवाद एकै प्रकृतिको भएपनि पाण्डेले राजिनामा दिएर बाहिरिएका थिए भने सिग्देल अहिले प्रधानसेनापतिको बन्ने लाइनमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्