Logo
Logo

सशस्त्रमा दुई डिआइजीका लागि प्रतिस्पर्धा


11.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त हुन लागेका दुई डिआइजी पदमा ६ जनाले दावी गरेका छन् । नेपाली कांग्रेसले गृहमन्त्रालय लिने वित्तिकै सशस्त्र प्रहरीका ६ जना एसएसपीले आफूहरु पनि विगतमा कांग्रेसकै सदस्य रहेको डिआइजीको दावी गरेका हुन् ।

एसएसपीहरु कृष्ण ढकाल, मनिष थापा, कृष्णराज पाठक, प्रवीण कँडेल, विनोद श्रेष्ठ, दीपेन्द्र कुँवरले लविङ शुरु गरेका हुन् । सशस्त्रभित्र राष्ट्रिय ज्वाईको उपनामबाट चर्चामा रहेका कुँवरकै अनुकुल गृहमन्त्रालय रहेका यसपटक उनको बढुवामा कसैले रोक्नसक्ने अवस्था नरहेको र बाँकी एक पदका लागि पाँच जनाको प्रतिस्पर्धा रहेको छ ।

भदौको पहिलो साता लुम्बिनी प्रदेशको ५ नम्बर बाहिनीपति अभि खत्री र सुर्खेतस्थित ६ नं बाहिनीपति दूर्गा भट्टराई अवकाशमा जाने भएका छन् । त्यसका लागि सशस्त्रभित्र अहिलेबाटै लविङ शुरु भएको हो । ढकाल, थापा र पाठक यसअघि पनि डिआइजी हुने सूचीबाट बाहिरिएका थिए । प्रतिस्पर्धी भएपनि उनीहरु छुटेका हुन् ।

यसपटक स्वाभाविक बढुवा हुने हो भने यी तीन मध्ये दुई बढुवा हुनेछन् । तर यसपल्ट यस्तो अवस्था छैन । यसअघि नै बढुवा हुनुपर्ने भन्दै कम्मर कसेर लागेका कुँवरले छाड्ने स्थिति छैन । उनले संगठनभित्र आइजीपी राजु अर्याल, एआइजी नारायणदत्त पौडेल र वंशी दाहालसँग राम्रो सम्बन्ध बनाएका छन् ।

त्यतिमात्र होइन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका आफ्नै बहिनी ज्वाई भएकै कारण सशस्त्रमा बारम्बार लाभ लिदै आएकाले अहिले यो मौका उनले चुकाउने अवस्था देखिदैन ।

यसअघि प्रचण्ड सरकारको बेला चुपचाप रहेका कुँवर अहिले विस्तारै चहलपहलमा लागेका छन् । ‘मलाई खास डर छैन, मेरो बारेमा जे जति समाचार आउनु थियो त्यो सबै आइसक्यो, शक्ति हुँदा जसले पनि गर्ने हुन्’, उनले आफू निकट रहेका प्रहरी कर्मचारीलाई भन्दै आएका छन् । शक्तिकै आडमा स्टाफ कलेज गरको उनले यसपटक धेरै व्याचमेटहरुबाट आफूलाई अघि बढाउने कोसिस गरिरहेका छन् ।

सशस्त्र प्रहरीले राजनीतिक भेटघाट र कुटनीतिक भेटघाटलाई कस्दै लगेको भएपनि उनका हकमा भने यो लागु हुँदैन ।‘ओपन सेक्रेट जस्तैछ, कुँवर शक्तिकै आडमा यो अवस्थामा आइपुगेका हुन् अहिले पनि उनको बढुवा कसैले पनि रोक्ने सक्दैनन, प्रधानमन्त्री मात्रै हो उनको बढुवा रोक्ने’, सशस्त्र मूख्यालयका एक अधिकारीले भने । बेसिकमा ६६ नम्बरमा रहेका कुँवर अहिले उनको व्याचको एक नम्बरको एसएसपी हुन् ।

सशस्त्र प्रहरी नियमावली, उनकै बढुवाका लागि यसअघि २०७२ नै संशोधन गरेर पहिलो नम्बरमा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरिएको थियो । २०७९ असार २३ गते सशस्त्र प्रहरी नियमावली संशोधन हुनुअघिसम्म एसपी भएको ४ वर्ष पूरा भएपछि बल्ल एसएसपी बढुवाका लागि योग्य हुने प्रावधान थियो । पछि यो प्रावधान कुँवरलाई बढुवा गर्नुपरेपछि संशोधन गर्दै ३ वर्षमा झारियो । यसले पनि के देखाउछ भने उनी आफ्नो हकमा नियमावली नै संशोधन गराउन सक्ने हैसियत राख्छन् ।

चार वर्षे प्रावधानअनुसार २०७९ बैशाख २६ गते नै सि सं. १ का दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत एसएसपी बढुवाका लागि योग्य भइसकेका थिए । सोही अनुसार उनीहरुको बढुवा अघि बढ्नु पर्नेमा केही समय रोकिएका थियो । यो रोकिनुको पछाडि उनै कुँवरको बढुवा जोडिएको थियो । अहिले कांग्रेसकै गृहमन्त्री भएका कारण उनका लागि सहज परिस्थिति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्