Logo
Logo

श्रमिकहरु जब जाग्नेछन्


लक्ष्मण देवकोटा

0
Shares

  • लक्ष्मण देवकोटा

कुहिगन्धे राजनीतिको खबरहरु पढ्न यी आँखाहरु अभिषप्त छन् । परिवर्तनको तिव्र चाहना, विकासको उत्कन्ठा र जीवनमा केही परिवर्तन आउला भन्ने सपनाले माओवादी एमालेलाई जनताले चुनेर पठाएका थिए पाँच वर्षका लागि । तलका कार्यकर्ता, जनतालाई हेर्नै लाज लाग्नेगरी माथि भैरहेको खेलका बीच प्रधानमन्त्रीको मे दिवसको सन्देश सुनेर भन्न मन लाग्यो, अझैपनि यसो गर्छौँ र उसो गर्छौ भन्ने चरणमै रहेछौँ हामी । यो बडो दूर्भाग्य हो ।
हुन त मजदूरहरुलाई यो कम्युनिष्ट सरकारले कस्तो व्यवहार गरेको छ भन्ने कुरा त फूको चिउरापनि सकिएर बटारिएको पेट लिएर मरे घरमै मरौँला भन्दै हिँडेका श्रमिकहरुको कहालीलाग्दो दृष्यले नै प्रष्ट पारिसकेकोछ । खड्गप्रसाद ओलीको मई दिवसको सन्देश तिनले सुनेर तिनका जीवनमा केही हुनेवाला पनि छैन । बरु, ती श्रमिकका खाली पैताला देखाउने संचारकर्मीलाई सत्तो सराप गर्दै आफ्ना कार्यकर्ताले प्रतिवाद गर्ने बताइसकेका छन् । गालीका क्रममा सामाजिक संजालमा भइरहेका सरकारविरोधी भनाइप्रति पनि उनले खार पोखे । यसको मतलब नेपाल राज्यमा सब चिज बडो गजब भैरहेकोछ, खाली संचारमाध्यमले उल्टो बोलिरहेकाछन् । सब चिज ठिकठाक छ, खाली संजाल प्रयोगकर्ताहरुले सरकारको खेदो खनिरहेकाछन् ।
चाहिएका बखत भष्मासुर भनेकै कारण कारबाहीको डण्डा चलाउन सकिने रेडियो नेपाल, आफ्नै मुखपत्र गोरखापत्र, राईजिँग नेपाल, पार्टी अझ आफ्नै गूटका साप्ताहिक पत्रिकाहरु, उनकै मानिसहरुले चलाइरहेका टीभी रेडियो छँदाछँदै प्रधानमन्त्री फेरि किन मई दिवसको दिन सँचारमाध्यममाथि खनिनु परेको होला ?
संसार कोरोनासँग लडिरहेको बेला अँध्यारो कुनामा बसेर अस्थिर राजनीतिको खेल कसले खेल्यो ? राष्ट्रपतिकहाँ कसले अध्यादेश लग्यो र चौतर्फी दबाबपछि फिर्ता कसले गर्यो ? राजनीति खेल हो भन्दैमा बेला न कुबेला मदेशमा आफ्नो दाहिने हात, पूर्वप्रहरी प्रमुखलाई कसले पठायो ? के यो त्यही गर्ने बेला थियो ? के यस्तै यस्तै काम गरेर मजदूरहरुको सपना पूरा हुन्छ ? के हिज आफैले मई दिवसमा मच्ची मच्ची गरेका भाषणहरुको कार्यान्वयन हुन्छ ?

साँच्चिकै मजदूरहरुको माया हुन्थ्यो भने, आफ्नी आमालाई अन्तिम दागबत्ती दिन नपाएका महाकाली पारीका युवाको आर्तनाद सरकारले सुन्थ्यो । कोरोना पछिको तिब्र आर्थिक सँकटलाई सामना गर्न योजनाहरु बनाइएको हुन्थ्यो । खाडीमा रहेका लाखौँ श्रमिकहरुलाई नेपाल फर्किएपछि कसरी रोजगारीमा लगाउने भन्ने छलफल हुन्थ्यो ।
अझ जनताले अपेक्षा त के गरेका थिए भने, यही मौकामा ज्वरो आएका बिरामीलाई गेटबाटै फर्काउने निजी अस्पताललाई सरकारीकरण गर्ने अभियानमा कम्युनिष्ट सरकार सामेल हुन्थ्यो । शिक्षाका नाममा भइरहेको निजी क्षेत्रको ब्रम्हलुटलाई कसरी व्यवस्थापन गर्ने भनेर बहस हुन्थ्यो । तर अहँ, माथि त अरुका पार्टी फोड्ने तानाबानामा सरकारले समय व्यतित पो गरेको देखियो । मई दिवसको यो बिहानमा राजनीतिको गन्जागोल वामदेव प्रधानमन्त्री हुने जस्तो अवैधानिक र अर्को नचाहिदो कर्मकाण्डमा आइपुगेको देख्न सुन्न पाइएकोछ । स्थायी समितिमा प्रष्टिकरण दिएर गल्ती भएको स्विकारेर खुरुखुरु सत्ता सँचालन गरे हुने ठाउँमा राजनीति अझ गिजोलेर तिकडमको जुवाघर बनाउन

लागिपरेकाछन् केही मान्छेहरु । भ्रष्टाचारीलाई काखी च्याँपेर नपुगेर उनै भ्रष्टाचारीलाई हाकाहाकी मिडियामा बोल्न लगाइएकोछ । अझ सँसदीय दलमा
मान्छेका टाउका गन्ने तहसम्म नेताहरु लागेको देख्दा जनताको मन कस्तो भएको होला ? के श्रमिकहरुले पत्याउलान् यस्ता तिकडमवाजहरुले उनीहरुको पक्षमा केही गर्नेछन् ? छानीछानी मान्छे बोलाएर सही गराउने कर्म त ठ्याक्कै ०४८ तिर गिरिजाप्रसादका वरिपरिका कथित लोकतान्त्रिक सिपाहीहरुको काम जस्तो पो भयो । भन्न त उनीहरुले पनि लोकतन्त्रको रक्षा र कम्युनिष्टहरुको कारण गरेको भनेका थिए । कहाँ छन् ? ती मण्डलीहरु आज । कहाँ छ काँग्रेस ? असंगठित श्रमिकहरुलाई निर्वाचनका बेला सपनाको सँसारमा विचरण गराउनु बडो सजिलो काम हो । यसपटकको कोरोना कहरका बेला मजदूर दिवसको दिन चिच्याइ चिच्याइ श्रमिक मुक्तिको नारा लगाउनेहरुको वास्तविकता देख्ने मौका पाए श्रमिकहरुले । तिनै गरिखानेहरुको मतले सत्तामा पुगेर अहँकार र अभिमान प्रदर्शन गर्ने, राज्यको ढुकुटीमाथि ब्रम्हलुट मच्चाउनेहरुलाई फेरि तिनै श्रमिकहरुले लखेट्नेछन् । त्यत्रो सोभियत साम्राज्यको पतन देखेर पनि यिनका आँखा खुल्दैनन् र जनतालाई रैति मात्रै ठानेर सोही व्यवहार देखाउने हो भने न ति कम्युनिष्ट रहिरहन्छन् । न तिनको अस्तित्व रहन्छ । ढिलोचाँडो हुने भनेको पतन नै हो । सुन्दा तितो लागे पनि सत्य यही हो ।
मदनपोखरा पाल्पा

प्रकाशित मिति :  शुक्रबार, १९ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्