काठमाडौं । सरकारले सीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको पनि सरुवा तयारी भएको छ । यतिमात्र होइन, गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले ५ जना एसपी र ११जना डीएसपीलाई काज सरुवा गरेको छ । सरुवा गरिएका अधिकृतहरू कार्यक्षेत्रमा ५ महिना र १० महिनामात्रै काम गरेका छन् ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयमा नेतृत्व फेरिएपछि हचुवाको भरमा प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने ‘चलन’ स्थापित हुँदै छ ।
यसअघि रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री नियुक्त भएको १ महिनामा तराईका ६ जिल्लाका प्रहरी उपरीक्षकहरू सरुवा गरेका थिए । त्यसबेला महोत्तरीबाट श्याम कुमार राई र सर्लाहीबाट दयानिधि ज्ञवालीलाई ५१ दिनमा नै फिर्ता बोलाएका थिए ।
तनहुँका इन्चार्ज (एसपी) अपिल राज बोहरा २०८० फागुन १ मा सरुवा भएका थिए । त्यहाँ हाजिर भएको ५ महिनामा नै उनलाई हटाइएको छ । जुवाखालबाट ३ हजार ४ सय बरामद भएका ‘महिला समूह’ र बाघचाल खेल्नेहरूलाई मुद्दा चलाएको भन्दै उनलाई सरुवा गरिएको हो ।
प्रहरी ऐन र नियमावली विपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने कानुनी व्यवस्था भए पनि हचुवाको भरमा अधिकृतहरू तानिँदै आएका छन् ।स्थानीय कांग्रेस नेतृत्वको आग्रहमा गृहमन्त्री रमेश लेखकले उनलाई सरुवा गर्न आईजीपीलाई निर्देशन दिएका हुन् । बोहरालाई हटाएर तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको छ ।
रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत गौरव महतलाई प्रधान कार्यालयले ७ महिनामा हटाएको छ । उनी पुस ९ मा हाजिर भएका हुन् । महत कसैको कुरा नसुन्ने र कानुन बमोजिम कारबाही गर्ने स्वभावका अधिकृतको रूपमा चिनिन्छन् ।
प्रहरी प्रधान कार्यालयले कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा डीएसपी राजेन्द्र श्रेष्ठलाई पनि अवधि नपुग्दै काज सरुवा गरेको छ । पोखरास्थित वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठलाई क्लब सञ्चालकको दबाबमा सरुवा गरेको आरोप छ ।
डीएसपी श्रेष्ठ २०८० असोजमा बैदाममा हाजिर भएका थिए । श्रेष्ठले क्लब–१६ मा कार्यरत दुई जना बाउन्सरलाई मुद्दा चलाएको कारण सो क्लबको संचालकको दबाबमा सरुवा गरिएको आरोप छ ।
क्लब सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीलाई सरुवा गर्ने लबिङ गरेको पोखराका व्यवसायीहरू बताउँछन् । बैदाममा सन्तोष निरौलालाई पठाइएको छ । रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राईलाई पठाइएको छ । महाराजगन्जका डिएसपी अमर थापालाई पनि हटाइएको छ ।
उदयपुरमा कार्यरत एसपी रमेश थापा र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदिप पाठकलाई पनि सरुवा गरिएको छ । भोजपुरमा डीएसपी युवराज तिमिल्सिनालाई खटाइएको छ । थापा र पाठकलाई माग अनुसार नै फेरबदल गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । पाठक २०८० भदौ १५ मा र थापा २०८० असोजमा उदयपुरमा गएका हुन् । थापाको स्थानमा हरिहर योगीलाई पठाइएको छ ।