काठमाडौं । नेकपा एमालेभित्र व्यक्तिवाद कतिसम्म हाबी छ भन्ने कुराको पछिल्लो एउटै उदाहरण काफी हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधि विधानअनुसार भन्दा नेताको अनुहार हेरेर निर्णय गर्दै आएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन ओलीले विधिभन्दा अनुहार हेरेका छन् । र, आफ्नो विरोधीलाई तह लगाएका छन् ।
लुम्बिनी प्रदेश सभाका एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम तयारीमा थिए । कांग्रेस–एमाले भागबण्डामा लुम्बिनी प्रदेश एमालेको भागमा परेपछि गिरीले मुख्यमन्त्रीको तयारी गर्नु स्वभाविक पनि थियो । तर, उपाध्यक्ष विष्णु पौडेलनिकट भएकै कारण मुखैमा आएको मुख्यमन्त्री पद गिरीले गुमाएका छन् । एमालेमा व्यक्तिवाद हाबी हुँदा गिरीको नाममा टिपेक्स लगाएर आचार्यको नाम लेख्नुपर्ने बाध्यता आएको थियो ।
लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले लामो समयदेखि गुट चलाउँदै आएका छन् । प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने बेलामा पनि पौडेलमाथि पोखरेल हाबी भएका थिए । अहिले मुख्यमन्त्री बनाउने बेलामा पनि पोखरेलले बाजी मारेका छन् । केन्द्र सरकारको उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएर पनि पौडेल निरीह बनेका छन् ।
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा विष्णु पौडेलले पाल्पाका राधाकृष्ण कँडेललाई साथ दिएका थिए । त्यसैगरी महासचिव शंकर पोखरेलले प्यूठानका हरि रिजाललाई अध्यक्ष पदको प्रत्यासी बनाएका थिए । यी दुई गुटको भिडन्तमा पोखरेलका उम्मेदवार पराजित भए । त्यसैको रिस पोख्न अहिले मुख्यमन्त्रीबाट गिरीलाई वञ्चित गरिएको हो । यस घटनाले एमालेमा योग्यता र क्षमताभन्दा पनि चाकडी, चाप्लुसी हाबी हुँदै गएको स्पष्ट छ ।
संसदीय दलको नेतालाई पाखा लगाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएर एमालेले संसदीय मू्ल्य मान्यता लल्याएको छ । यो सँगै एमालेभित्रको शक्ति संघर्ष सतहमा देखा परेको छ । अवसरको हिसाब गर्ने हो भने गिरीले भन्दा आचार्यले नै बढी पाएका छन् । माओवादी नेतृत्वको अघिल्लो सरकारमा पनि आचार्यले एमालेको तर्फबाट सरकारको नेतृत्व गरेका थिए ।
गत निर्वाचनपछि सुरुको केही महिना गिरीले मुख्यमन्त्रीको पद सम्हालेका थिए । तर, तत्कालीन गठबन्धन भत्किएपछि गिरी पदमुक्त भएका थिए । रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा निर्वाचित गिरी एमालेभित्र प्रभावशाली नेता मानिन्छन् । गिरीलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाउनुको कारण ओलीले दिन सकेका छैनन् । आफ्नो नाम काटिएपछि गिरीले ओलीलाई फोन गरेका थिए । ओलीले यसपालि यस्तै भयो भन्ने जवाफ दिएका थिए ।
ओलीले कोशी र लुम्बिनी प्रदेशमा फरक व्यवहार गरेका छन् । कोशीमा ओलीले हिक्मत कार्कीलाई पकट पटक अवसर दिएका छन् । तर, लुम्बिनीमा गिरीमाथि अन्याय गरेका छन् । गिरीले असन्तुष्टि जनाउँदै संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । ओलीले दलको नेताबाट राजीनामा दिनुअघि सल्लाह गरौँला भनेका थिए । तर, गिरीले ओलीलाई नै संबोधन गरेर राजीनामा बुझाइदिए ।
मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति मिचेर व्यक्तिवाद लागू गरेको गिरीको आरोप छ । मुख्यमन्त्रीमा पार्टीकै अर्का व्यक्तिलाई अगाडि सारेपछि दलको नेतृत्वमा बसेर अप्ठ्यारो बनाउनुहुन्न भनेर राजीनामा दिएको गिरीले बताएका छन् ।
‘मैले पार्टी अध्यक्षलाई नै उहाँ (आचार्य) लाई मुख्यमन्त्री बनाएपछि दलको नेता पनि मैले छोडेर उहाँलाई मार्ग प्रशस्त गरेको हुँ । म प्रदेश सभा सदस्य छँदै छु । मेरो अनुभवले प्रदेश सभालाई समृद्ध बनाउने काममा लाग्छु’ गिरीले भनेका छन् ‘संसदीय प्रणालीमा संसदीय दलभित्र, प्रदेश सभामा छलफल हुनुपर्ने हो । तर, केन्द्रबाट लाद्ने काम भयो ।’
दलको नेता हुँदा हुँदै उपनेतालाई मुख्यमन्त्री बनाएर एमालेले गिरीको अपमान गरेको छ । ‘मुख्यमन्त्री हुनुपर्छ भन्ने दाबी मेरो सुरुदेखि थियो । यो निर्णय भइहाल्यो । अब के नै गर्न सकिन्छ र ?’
केन्द्रबाटै प्रदेशको गुट चलाउँदा त्यसको शिकार गिरी भएका छन् । एमालेमा खुलेर बोल्ने अवस्था पनि छैन । त्यसैले गिरी भन्छन, ‘हाम्रो पार्टी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित छ । कहिलेकाहीँ आफ्ना कुरा तलबाट राख्ने र माथिबाट कार्यान्वयन गर्ने कुरा हुन्छ भने कतिपय सन्दर्भमा माथिबाट निर्णय हुन्छ र तल कार्यान्वयन गर्नुपर्छ ।’
कार्यकर्ताहरूसँग गिरीले गुटबन्दी स्वीकार्य नहुने बताएका छन् । ‘गुटबन्दी गरेर काखापाखा गर्ने हो भने राम्रो हुँदैन । गुटबन्दीका कारण इतिहासमा पार्टी टुटफुटबाट अगाडि बढेको नेताहरूले भुल्नु हुँदैन ।’
गिरीले पछिल्लो घटनाबाट शिक्षा लिएको बताएका छन् । कार्यकर्तामा गएर काम गर्ने र कमजोरी सुधार्ने मौकाको रुपमा लिएको उनले बताएका छन् । ‘मलाई साथ दिने धेरै कार्यकर्ता सहयोद्धाहरूले यो घटनाबाट विचलित हुने होइन, इमान्दारीका साथ हामी तपाईँको साथमा छौँ, पार्टी काममा धेरै सक्रिय भएर लाग्नुपर्छ भनेर भन्नुभएको छ । त्यसले मेरो जाँगर अलि थपिएको छ ।’ गिरीले भनेका छन् ।