‘बिहानीले दिनको संकेत गर्छ’ भन्छन् । चौथोपटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल कस्तो होला अहिले नै भन्न सकिन्न । ओली प्रधानमन्त्री बनेपछि दोलखा भीमसेनको मूर्तिमा पसिना आयो भनिन्छ ।
दोलखा भीमसेनलाई पसिना आउनु अनिष्टको संकेत हो भन्ने किंवदन्ती छ, नभन्दै साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो, १८ जनाले ज्यान गुमाए । ओली प्रधानमन्त्री हुनु र दोलखा भीमसेनलाई पसिना आउनु संयोग मात्र मान्न सकिएला, तर जानकारहरूका अनुसार जबजब दोलखा भीमसेनलाई पसिना आउँछ, तबतब देशमा अनिष्ट निम्तने गरेको सत्य हो ।
यो कोणबाट हेर्दा प्रधानमन्त्री ओलीले सजगताका साथ अगाडि बढ्नुपर्ने हुन्छ । उनको निर्णयले देशमा अनिष्ट निम्तनु हुन्न । पहिलो, दोस्रो र तेस्रोपटक प्रधानमन्त्री हुँदा गर्न नसकिएको राम्रा काम चौथो कार्यकालमा सफलताका साथ सम्पन्न गर्नु उनी र देशको लागि हितकर हुनेछ ।
आकाश–पाताल जोडेर भाषण गर्दैमा कुनै पनि देश बनेको छैन । देश बनाउन सबैभन्दा पहिला आफू इमानदार हुनुपर्छ । अनि मात्र, जनताले पत्याउँछन् । जनविश्वासबिना सुखी नेपाली, समृद्ध नेपाल सम्भव पनि छैन । त्यसका लागि सुशासन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । भ्रष्टाचारको दलदलमा भासिएको देशलाई भ्रष्टाचारबाट मुक्त गराउनु पनि कम चुनौती छैन ।
ओली प्रधानमन्त्री हुनु र दोलखा भीमसेनलाई पसिना आउनु संयोग मात्र मान्न सकिएला तर जानकारहरूका अनुसार जबजब दोलखा भीमसेनलाई पसिना आउँछ, तबतब देशमा अनिष्ट निम्तने गरेको सत्य हो । यो कोणबाट हेर्दा ओलीले सजगताका साथ अगाडि बढ्नुपर्ने हुन्छ ।
संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भनेर पुरानै प्रतिबद्धता दोहो¥याए । उनले रोष्ट्रममा उभिएर यसो भनिरहँदा आफू कति निष्कलङ्क छु भन्ने कुरालाई समेत आत्मसात् गर्नुपर्छ ।
गिरिबन्धु चिया बगानको जग्गा सट्टापट्टा गर्ने काम गैरकानुनी हो भनेर सर्वोच्च अदालतले भनिसकेको छ । त्यसमा उनले आत्मालोचना गर्नुपर्छ, किनभने, गिरिबन्धुको जग्गा सट्टाभर्ना गर्न उनले कानुन नै संशोधन गरेका थिए ।
भूमाफियाको प्रभावमा परेर विगतमा उनले गैरकानुनी काम गरे पनि त्यसलाई न्यायालयले सच्याइसकेको छ । आम जनताको ध्यान गिरिबन्धु प्रकरणमा सरकारले कस्तो ‘एक्सन’ लिन्छ भन्नेतिर केन्द्रित छ ।
त्यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता हल्लाएको अवस्था छ । एउटा गरिब नेपालीको छोराछोरीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने काम अक्षम्य अपराध हो । यस्ता अपराधमा मुछिएका जति शक्तिशाली पदमा बसेका किन नहुन्, तिनीहरूलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला मन्त्रीदेखि स्वयं प्रधानमन्त्रीका स्वकीय सचिवको नाम जोडिएको छ । मुखले भ्रष्टाचार गर्दिनँ भन्ने व्यवहारमा आफ्नै वरपर काण्डैकाण्डमा जोडिएका मान्छे बोकेर हिँडेर प्रधानमन्त्रीको सुशासनप्रतिको प्रतिबद्धतालाई कसले पत्याउने ?
काण्डैकाण्डले भरिएको देशमा ललिता निवास जग्गा, बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटाटायल कारखाना, तारागाउँ विकास समिति, बाल मन्दिर, स्काउट भवनदेखि लिएर देशैभरि सरकारी जमिन हडप्नेहरूको लामो सूची छ । ती सूचीमध्ये केही प्रकरणमा सिआइबीले छानबिन समेत गरेको छ ।
तर, सार्वजनिक जग्गा फर्काउन सिआइबीले प्रधानमन्त्रीको मुख ताकेको अवस्था छ । नेपाल प्रहरीलाई यति निकम्मा बनाइएको छ कि एउटा भ्रष्टाचारीलाई पक्राउ गर्न पनि प्रधानमन्त्रीकै आदेश चाहिन्छ । सबैखाले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री ओली निर्मम हुन सके मात्र उनले भनेको कुरा जनताले पत्याउलान् । नभए जतिपटक प्रधानमन्त्री भए पनि जनतालाई के को आशा ?
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सरकारलाई ‘मैले गर्न सकिनँ भन्ने छुट छैन’ भने । पक्कै पनि विगतका गठबन्धन सरकारले कामै गर्न सकेन भनेरै दुई ठूला दलको सरकार बनेको हो । दुईतिहाइ सरकारले चाह्यो भने जे पनि गर्न सक्छ । त्यसका लागि दृढ इच्छाशक्ति चाहिन्छ । चौथोपटक प्रधानमन्त्री भएका ओलीले दृढ इच्छाशक्ति गरेरै देखाउँछन् कि दोलखा भीमसेनको किंवदन्ती दोहोर्याउँछन् हेर्न बाँकी छ ।