Logo
Logo

प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै विद्यार्थी संगठनद्वारा आपत्ति


252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति प्राडा केदारजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको बैठकमा उपकुलपति बराललाई नीति तथा कार्यक्रम पेश गर्न नदिएके भन्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैटौँले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रम रोक्दा प्रतिस्पर्धाबाट चुनिएको नेतृत्वले अघि बढाएका त्रिवि सुधारका कामहरूमा बाधा उत्पन्न हुने र विद्यार्थी आन्दोलनले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने देखिएको उनीहरूको आरोप छ ।

उपकुलपतिले सरकारलाई पेस गरेको सोचपत्र र कार्ययोजना सहितको नीति तथा कार्यक्रम प्रधानमन्त्री सम्बद्ध पार्टीका कर्मचारी संगठनको षड्यन्त्रमा विना कारण अघि बढ्न नदिनु भित्र लुकेको कुत्सित मनसाय देखिएको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।

६ विद्यार्थी संगठनले जारी गरेका संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले सभाबाट नीति तथा कार्यक्रम पारित हुनबाट रोकेर उपकुलपतिलगायतका पदाधिकारीलाई दबाबमा राख्न खोज्नु र त्रिवि पदाधिकारीलाई असहयोगको सङ्केत गर्नु वास्तवमा अत्यन्त लज्जास्पद घटना हो । यस घटनाले गौरवमय इतिहास बोकेको विश्वविद्यालयको गरिमामाथि आँच पुगेको हाम्रो निष्कर्ष छ ।’

उनीहरुले राजनीतिक भागभण्डाको संस्कृति अन्त्य गर्ने, आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने र नवीनतम योजना एवं पहलकदमी अघि बढाउनुपर्ने अवस्थामा पार्टीगत स्वार्थलाई केन्द्रमा राखेर प्रतिशोध साँध्नुलाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्