Logo
Logo

कहिल्यै बिर्सिनै नसकिने अनुभव


3.1k
Shares

चीन पुगेको झण्डै दुई वर्ष भइसकेको थियो । फेरि जाडोको छुट्टी आयो । यसपालि पनि युनिभर्सिटीले घुमाउन लाने भयो विदेशी विद्यार्थीहरूलाई । हामीलाई भने यसपालि छोरीलाई पनि लिएर तीनैजना घुम्ने इच्छा जाग्यो । आ–आफ्नो स्कूलको प्रशासनसँग कुरा ग¥यौँ, परिवारसँगै जान पाए हुने भनेर । स्वीकृति पनि दिए । मेरो युनिभर्सिटीको ट्रीपमा सरोज र छोरी पनि सामेल हुने भए ।

पर्यटनका निम्ति नाम चलेका दुई ठाउँमा लाने कुरा थियो– कुइलिन् र खुनमिङ् । शाङ्हाईबाट पहिले कुइलिन गयौँ । रेलमा २७ घण्टा लाग्यो । सुन्दर खोलानाला, पहाड, गुफा– कुइलिनको प्राकृतिक सुन्दरताको बयान गरेर कोही थाक्दैनन् । त्यसमाथि कृतिम श्रृङ्गार पनि थपिएको मन मोहक ठाउँ छ कुइलिन् । पहाडका बीचमा झललल बत्ती बालेको गुफाहरूमा गाइडले पौराणिक किंवदन्ति र लोककथाहरू सुनाउँदै लाँदा हो न हो अर्कै भूवनको यात्रा गरेको झैँ महशुस हुँदोरहेछ ।

लामो तालमा डुङ्गामा पनि चढियो । पहाडको फेदैफेद सरर डुङ्गा बगिरहँदाको आनन्द भिन्दै । एउटा विशेष रमाइलो दृश्य के देखियो भने माझीहरू माछा मार्नका निम्ति सहयोगीका रूपमा एकथरी बकुल्ला जस्तै चरालाई पाल्दा रहेछन् र डुङ्गामा राखेर निस्किँदा रहेछन् ।

लामो चुच्चो भएको त्यो चरा माछा मार्न अति सिपालु हुँदो रहेछ । तर, बिचराको घाँटी भने निल्न नमिल्ने गरी बाँधिदिँदा रहेछन् । उसले टिपेको माछा निल्न नसकेपछि सँगै राखेको ठुलो टोकरीमा फुत्त फालिदिँदो रहेछ ।

माछाको श्रमले माझीको टोकरी भरिँदै जाँदो रहेछ । मान्छेले आफ्ना स्वार्थका निम्ति अरु प्राणीलाई उपयोग गर्ने यति धेरै जुक्ति कसरी सिक्यो कुन्नी !

बाटाहरू उस्तै रमाइला । वरिपरीका स–साना सुन्दर गाउँ देख्दा फेरि आफ्ने देश सम्झिइन्थ्यो । सुन्दर गोरेटा, झरना, रुख बिरूवा देखेर मन मुग्ध हुँदा आफ्नै देशमा पनि त धेरै गर्न सकिन्थ्यो नि भन्ने लाग्यो । केही गर्न नसकेकोमा मन दुखिरह्यो ।

चिनियाँहरूले त्यो बेलामा नै (१९८८को कुरा हो यो) पहाड फोरेर रेल गुड्ने सुरुङ प्रशस्त बनाइसकेका थिए । अहिले त झन् उच्च प्रविधिका अत्याधुनिक सुरुङ कति होलान् कति । त्यो बेला नै कुईलिनबाट खुन्मिङ जाने बाटोमा धेरै सुरुङ थिए ।

एउटा सुरुङ त मलाई निक्कै लामो लागेको थियो । नेपालमा पनि बल्ल एकाध सुरुङमार्ग बन्दैछन् भन्ने सुनिन्छ । कहिले पो बनिसक्ने होलान् ! पहाडी देशमा कति महत्वपूर्ण हुँदो रहेछ सुरुङमार्ग ।

अहिलेका हाम्रा नेता, उद्यमी, इन्जिनियर, सपना बोकेका युवा … धेरैले चीन र त्यस्तै मेहनतले उठेका धेरै देश घुमेका छन्, घुमिरहेका छन् । सिक्नु पर्ने कुरा सिक्दै त होलान् !!

हामी बसेको रेलको डिब्बामा प्रायः अरबी विद्यार्थीहरू परेछन् । अरु विदेशीमा जापानी धेरै थिए । नेपाली त हामी मात्र । बच्चा पनि भएकोले गाइडहरूको ध्यान हामीमा बढी हुन्थ्यो । विद्यार्थीहरूका बीचमा एउटा परिवार नै देख्दा उनीहरूलाई पनि रमाइलो लाग्दो हो ।

सानी छोरी पनि खुबै रमाई । घुम्न पाए अरु केही चाहिँदैन जस्तो लाग्ने म त नरमाउने कुरै भएन । रेलकै बाटो खुनमिङ् पुग्यौँ । खुनमिङ् त्यत्तिकै रमाइलो लाग्यो ।

खुन्मिङ् शहर ज्यादै ठूलो भन्न मिल्दैन । निकै सिङ्गारिएको शहर रहेछ । तर, हामी बास बसेको होटल भने ठीकै मात्र लाग्यो । विद्यार्थीहरूलाई राख्ने होटल सस्तै छानेका होलान् । कुइलिनको पनि उस्तै नै थियो ।

त्यो बेला होटलमा राती राती डान्स हुन थालिसकेको थियो । हामीलाई अझै त्यो अपाच्य नै लाग्थ्यो । अर्कै किसिमले हुर्केका थियौँ हामी । चीन जानु केही अगाडि नेपालमा एशियन विद्यार्थीहरूको भेला हुँदा होटेल बज्रमा राती साथीहरूका बीच केही नाचगान हुँदा पार्टीबाट विद्यार्थी नेताहरूले आलोचना खेप्नु परेको कुरा थाहा थियो मलाई ।

उता चीनमा भने त्यो बेलासम्म डान्स पार्टी भनेको अति सामान्य भइसकेको थियो । फुर्सद पायो कि नाच्थे चिनियाँहरू । युनिभर्सिटीकै डाइनिङ्ग हलमा पनि कुनै न कुनै निहूँमा पार्टी भैरहन्थे । हामीलाई भने अझै असहज जस्तो हुन्थ्यो ।

चीनको त्यो विशेष संक्रमणकालका कतिपय नयाँ कुरा पुराना चिनियाँहरूलाई पनि बानी नपरेको जस्तो देखिन्थ्यो । बन्द ढोका खोलेपछि सबै कसिमका संस्कारभित्र पस्नु र त्यसमा बानी नपर्नु पनि स्वाभाविकै हो ।

वेश्यावृत्ति पनि ठाउँ ठाउँमा सुरु भइसकेको छ भन्ने सुन्दा चाहिँ मनै कटक्क खान्थ्यो– समाजवादी देशमा पनि कसरी यस्तो कुरा सुन्नु परेको होला भन्ने लाग्थ्यो । हुन त हामीले चीनलाई कति पो हेर्न पाएका थियौँ र, कति पो बुझ्न सकेका थियौँ र !

खुन्मिङ्गको विशेष आकर्षण हो शीलारण्य– ढुङ्गाको जङ्गल ! रुख जस्तै लामा र सलक्क परेका आकाशतिर फर्केका सुन्दर ढुङ्गाहरू ठूलै क्षेत्रमा रूखका जङ्गल झैँ फैलिएका छन् । कति सुन्दर हुँदा रहेछन् प्राकृतिक ढुङ्गाहरु पनि ! प्रकृतिले पनि चीनलाई के मात्र दिएको छैन ! पहाड, मैदान, हिमाल, ताल, समुद्र, मरुभूमि .. जे पनि छ त्यहाँ ! यो ठाउँमा भने कतै नभएको ढुङ्गाकै जंगल ! वाह ! कहिल्यै बिर्सिनै नसकिने अनुभव भयो त्यो ।

चार दिन खुनमिङमै बिताउने योजना थियो । जङ्गलबाहेक अन्य सुन्दर दृश्य पनि थिए– मज्जाले घुम्यौँ । धेरैजनाको टीकट मिलाउन गाह्रो भएको कारणले होला चार दिनको सट्टा ६ दिन नै बसियो खुनमिङमा । एक दिन होटलले सित्तै खुवायो पनि । खानेकुरा पनि मीठो, कता कता नेपाली खाना जस्तै लाग्ने । कति मसला त नेपाली मसलासँग पनि मिल्ने रहेछ ।

खुनमिङबाट शाङहाई फर्किँदा रेलमा तीन दिन लाग्यो । चीन पुगेपछिको मात्रै हैन अहिलेसम्मकै सबभन्दा लामो रेलयात्रा यही नै भयो । त्यो बेलासम्म चीनमा अहिलेको जस्तो द्रुत गतिमा चल्ने ‘बुलेट ट्रेन’ अझै आइसकेको थिएन ।

शाङ्हाई फर्केपछि दैनिक जीवन फेरि यथावत अगाडि बढ्यो । केही थकाई केही रमाइलो बोकेर नयाँ नयाँ ठाउँ घुम्दै हिँडेका ती दिनहरू सम्झिँदा अझै पनि नस्ट्याल्जिया हुन्छ । झण्डै २५ वर्ष पछिको चीन यात्रामा फेरि एकपल्ट खुनमिङ् पुग्ने अवसर मिलेको थियो । धेरै फरक भैसकेछ शहर । तर, समयको अभावले त्यो ढुङ्गाको जङ्गल भने फेरि हेर्न पाइएन । त्यसैले हो कि, किन किन पुरानै खुनमिङ सम्झिरहेँ ।

प्रतिक्रिया दिनुहोस्