Logo
Logo

सौर्यका पाइलट मनिषरत्न डिस्चार्जको तयारीमा, भन्छन्- पुनर्जन्म पाएँ


1.8k
Shares

काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा.मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताए ।

काठमाडौंबाट पोखरा उड्दै गरेको सौर्यको जहाज बुधबार काठमाडौं विमानस्थलमै दुर्घटनामा परेको थियो । डा. थापाका अनुसार पाइलटसँग दुर्घटनाका बारेमा धेरै कुरा भएको छैन । दुर्घटनालगत्तै पाइलट शाक्यले जहाज उडेर केही माथि जानासाथ कन्ट्रोलबाट बाहिर गएको बताएका थिए ।

शाक्यलाई उदृत गर्दै थापाले भने– ‘केही माथि पुगेपछि कन्ट्रोल गर्नै सकिएन भनेर भन्नुभएको थियो, हामीले दुर्घटनाका सम्बन्धमा धेरै खोतलेनौँ । जति धेरै घटनाको सम्झना हुन्छ स्ट्रेस बढ्दै जान्छ भनेर पनि हामीले सोध्नुहुँदैन । आयोगले छानबिन गरिरहेकाले हामीले कुरा गरिरहन परेन । ’

उनले शाक्यले घरमै थप उपचार गर्नुपर्ने भएकाले तत्कालै काममा जान सक्ने अवस्था भने पाइलटको नरहेको ताए । कांग्रेस उपसभापति खड्काले विमान चालक शाक्यले पुनर्जन्म पाएँ भनेर प्रशन्नता व्यक्त गरेको जानकारी गराए । उनले भने, ‘पुनर्जन्म हुन्छ भन्ने मलाई विश्वास लाग्यो । जाँचबुझ समितिसँग सबै कुरा भनिसकेपछि दुर्घटनाको धेरै कारणहरु उहाँले बताउनुहुनेछ ।’

अस्पताल सञ्चालक सुनील शर्माले पनि पाइलटले पुनर्जन्म पाएको बताए । उनले भने, ‘जहाज दुर्घटनाबाट बाँच्न सफल हुनुभयो । पूर्वजन्ममा होस् या पुर्खाले धेरै धर्म गरेको हुँदा उहाँ बाँच्न सफल हुनुभएको हो भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्