काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ । हिजो बसेको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानिय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ ।
यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सङ्गठनात्मक कामको अनुगमनको र पार्टी सम्वद्ध विभागहरुको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन र उपाध्यक्ष गुरु बराललाई संसदीय मामलाको संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरुको जिम्मेवारी तोकिएको छ ।
पार्टी महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सचिवहरु गोकर्णराज विष्टलाई भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख, योगेश भट्टराईलाई संसदीय विभाग प्रमुख, रघुवीर महासेठलाई परराष्ट्र मामिला विभाग प्रमुख, छविलाल विश्वकर्मालाई स्थानीय विकास विभाग प्रमुख जिम्मेवारी दिइएको छ ।
यस्तै सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र अर्का सचिव पद्मा अर्याललाई लुम्बिनी प्रदेशको इन्चार्ज तोकिएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन गर्नुको साथै अनुशासन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज, जनवर्गीय सङ्गठनको इन्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएको छ ।